काठमाडौं – बैंक र बीमालाई रोजगारीका लागि उत्कृष्ट क्षेत्र मानिन्छ । यहीकारण, धेरैको सपना यी दुईमध्ये एउटामा छिर्ने र पहिचान बनाउने हुन्छ । तर, भक्तपुरका कृष्णभक्त थापाको अनुभव फरक छ । उनी बैंकमा सेवा निवृत्त बनेर बीमामा क्षेत्रमा आवद्ध भएर सिटिजन्स लाईफ इन्स्योरेन्समा कार्यरत छन्। आफ्नो काममा लगन र इमानदारितासहित लाग्दा पाइने फलको उदाहरण हुन उनी ।
काभ्रेको बनेपा शाखामा सिटिजन्स लाइफ इन्स्योरेन्सको प्रमुखको भूमिकामा रहेका थापाले लामो समय बैंकमा रोजगारी गरे र सेवा निवृत्त बने । बैंकबाट सेवा निवृत्तपछि पनि नथाकेका थापा हाल बनेपामा बीमाको पहुँच र विस्तार वृद्धिमा लागिरहेका छन्। बैंकिङ्ग क्षेत्रमा लामो अनुभव बटुलेका थापा देशको वित्तीय क्षेत्रमा लामो समय बिताएको सम्झँदा उत्साह लाग्ने बताउँछन् ।
बैंकबाट सेवा निवृत्त, बीमामा शाखा प्रमुख
थापाले बीमा क्षेत्रमा लाग्नु अघि नेपाल बैंक लिमिटेडमा आबद्ध भएर २९ वर्ष काम गरेका थिए । बैंकिङ्ग क्षेत्रमा लामो समयको सेवापछि अवकाश पाएका उनी यत्तिकैमा थाकेनन् र बीमा क्षेत्रमा लागे । ‘बीमा क्षेत्रमा लाग्नु अघि बैंकिङ्ग क्षेत्रमा आबद्ध भएर ३ दशक काम गरे,’ थापा भन्छन्, ‘बैंक छाडेपछि सुरुमा नेशनल लाइफ इन्स्योरेन्समा एजेन्ट भएर सन् २०१९ मा बीमा व्यवसाय सुरु गरेको हुँ।’

‘त्यहाँ हुँदा खासै व्यवसाय गर्न सकेको थिइन । त्यसपछि २०२२ मा सिटिजन लाइफ इन्स्योरेन्समा एजेन्टकारुपमा सक्रिय बन्ने मौका पाए,’ उनले थपे । बीमा क्षेत्रमा लाग्दा आफूले गरेको व्यवसायको आधारमा आयस्रोत बढाउन मद्दत पुगेको र बीमा कम्पनीबाट पनि विभिन्न सम्मान तथा सुविधाहरू प्राप्त गरेको उनले बताए । बीमामा लागेपछि बीमा कम्पनीबाट बीमा सम्बन्धी विभिन्न तालिमहरू लिने मौका मिलेको थापाको भनाइ छ ।
‘बीमा चेतनाको अभाव छ’
उनको बीमा क्षेत्रको यस अवधिको अनुभवले सर्वसाधारणमा बीमाको चेतना न्यून रहेको बताउँछ । बीमा शिक्षाको कमीका कारण जनमानसमा बीमा बारे बुझाउन नसकिएको थापाको भनाई छ । ‘जति मेहेनतले बीमा बुझाउन खोजे पनि बुझाउन सकिएको छैन,’ थापाले भने । बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपालमा बीमाको पहुँच कुल जनसङ्ख्याको ४३ प्रतिशत हाराहारीमा मात्रै पुगेको छ ।
यो पहुँच पनि वैदेशिक रोजगारीमा जानेहरूलाई अनिवार्य बीमा गरेपछि पुगेको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगारीमा जानेहरुको बीमा तथ्यांक झिक्दा ४० प्रतिशतभन्दा न्यून जनसंख्यामा बीमाको पहुँच छ । ‘बीमाको पहुँच बढाउन नसकेको विषयलाई आत्मसात् गरेर पहुँच बढाउने उपायको खाजी गर्नुपर्छ,’ उनले भने ।
‘पहुँच विस्तारमा सरकारको सहयोग चाहिन्छ’
बीमा बचतसँगै जोखिम न्यूनीकरण तथा बहनको उपाय समेत हो । घातक रोगको औषधी उपचारमा सुविधा पाइने, अति आवश्यक पर्दा ऋण सुविधा आदि लगायत सुविधा बीमितले बीमाबाट लिन सक्छन् । ‘बीमा शिक्षाको कमीको कारणले बीमाको पहुँच पुग्न नसकेकोले सरकारले समेत बीमा बारे जनचेतना जगाउने खालका प्रचार-प्रसार गर्न अपरिहार्य देखिएको छ,’ थापा भन्छन्, ‘सरकारले पनि बीमा क्षेत्रको लागि प्राथमिकतामा राखेर काम गरिदिएमा राम्रो हुने सबै बिमाकर्मीहरूको गुनासो रहेको छ ।’

वित्तीय क्षेत्रमा आउन चाहने धेरैलाई प्रेरणा दिन्छन् थापा । आफू युवा अवस्थादेखि बैंकमा लागेर सेवा निवृत्त भएपनि बीमामा लागेको सुनाउँदै भन्छन्, ‘अभिकर्ता भएर धेरै युवाहरूसँग भेट्ने मौका पाइन्छ । उनीहरूलाई पनि यो क्षेत्रमा आउन प्रोत्साहन गर्छु ।’ जीवन बीमा पूर्णरुपमा एजेन्टमार्फत गरिने व्यवसाय भएका कारण बीमा कम्पनीले एजेन्टलाई राम्रो कमिसन दिने गरेको थापाको भनाइ छ ।
‘यहीकारण, युवाहरू यो क्षेत्रमा लाग्न सक्ने हो भने रोजगारीको राम्रो अवसर प्राप्त गर्न सक्नुका साथै कुल जनसंख्यामा बीमाको पहुँच वृद्धि गर्न मद्दत पुग्छ ।’ यसका लागि सरकारले पहुँच विस्तार, चेतना अभिवृद्धि र सेवा दिन सहयोगी भूमिका खेल्नुपर्ने थापा बताउँछन् ।
प्रतिक्रिया