‘पोलिसी सरेन्डर’ सँगै बढ्दैछ बीमाको ‘नेगेटिभ ब्राण्डिङ’

‘पोलिसी सरेन्डर’ सँगै बढ्दैछ बीमाको ‘नेगेटिभ ब्राण्डिङ’

‘मिससेलिङ’, न्यून चेतनाले रोक्दैछ बीमाको पहुँच विस्तार


काठमाडौं – बीमाको पहुँच र दायरा विस्तार गर्ने लक्ष्यमा दाबी भुक्तानी र ‘पोलिसि सरेन्डर’ निरन्तर बाधक बन्दै आइरहेका छन्। निर्जीवन बीमामा दाबी भुक्तानीको समस्या जटिल छ भने जीवन बीमामा ‘सरेन्डर’ बढ्दै गइरहेको छ। फलस्वरुपः बीमामा सकारात्मकको तुलनामा नकारात्मक ब्राण्डिङ बढ्दो छ ।

कम्पनीहरुबीच जारी अस्वस्थ प्रतिस्पर्धा, विभिन्न प्रलोभन र जबरजस्ती बीमा नीति बेच्ने होडका कारण ‘पोलिसि सरेन्डर’का घटना घट्नुपर्नेमा उल्टै बढ्दो अवस्थामा छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो समय सरेन्डरका घटना बढ्दो स्थितिमा छन्।

चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिना (पुस मसान्त)मा सात अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा नीति ‘सरेन्डर’ भएका छन् । जीवन बीमा गर्ने र तोकिएको समय पुरा नगरी बिचमा नै छाड्ने प्रवृत्ति नै ‘पोलिसि सरेन्डर’ हो । तथ्यांकअनुसार पुस मसान्तसम्ममा ५४ हजार ४१४ वटा बीमा ‘पोलिसी सरेन्डर’ भएका छन् ।

यो प्रतिशतका आधारमा न्यून हो । प्रतिशतका आधारमा १  प्रतिशतभन्दा पनि न्यून अवस्थामा ‘पोलिसि सरेन्डर’ छ । तर पनि रकम र ‘सरेन्डर’ संख्याका आधारमा अत्यधिक हो । जसकारण, बीमामा सकारात्मकको तुलनामा नकारात्मक ब्राण्डिङ बढिरहेको सरोकारवालाहरू स्विकार्छन् ।

‘मिससेलिङ्ग’ मुख्य कारक
जीवन बीमामा महत्त्वपूर्ण भूमिका खेल्न अभिकर्ताहरू बीमा नीति बेच्न गाउँ गाउँ पुग्छन् । उनीहरूले आफूलाई दिएको लक्ष्य भेट्टाउनका लागि स्थानीयवासी, वित्तीय रुपमा न्यून साक्षर सर्वसाधारणलाई विभिन्न प्रलोभन, लालच र गलत सूचना दिने गर्छन् । जसकारण, ती सर्वसाधारणले बुझ्दै जान्छन् र अभिकर्ताको भनाई भन्दा विपरीत पाउँछन् ।

सर्वसाधारणले बुझ्न थालेसँगै ‘सरेन्डर’ बढ्न थाल्ने कम्पनीहरू नै बताउँछन् । सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल जीवन बीमामा शून्यको सम्भावना नरहेको बताउँछन् । ‘सरेन्डर’ शून्यमा झार्न नसकिने भए पनि न्यून गर्न भने सकिने उनको भनाई छ । तर, यसमा अभिकर्ताको भूमिका महत्त्वपूर्ण हुन्छ ।

‘एक तर्फबाट हेर्दा मिससेलिङ्ग कै कारण सरेण्डर भएको हो भन्न पनि सकिन्छ,’ अर्याल भन्छन्, ‘तर, मिससेलिङ्ग मात्र यसको कारण होइन ।’ अभिकर्ताहरूमा कमिसनको लोभ र बीमा कम्पनीहरूले चेतना दिन नसक्दा सरेण्डरको केस बढेको होकि भनेर पनि अनुमान गर्न सकिने उनी स्विकार्छन् ।

बीमाको रिब्राण्डिङ्ग आवश्यक
नेपालको जनसंख्याको आधारमा अझै पनि जति बीमाको पहुँच पुग्नु पर्ने हो, त्यति पुग्न सकेको छैन । यसमा वित्तीय शिक्षाको कमी, चेतनाको अभाव र बीमाबाट हुने लाभबारे न्यून जानकारी लगायत कारण भएको बताइन्छ । जनसङ्ख्याविद् चेतन अधिकारीका अनुसार न्यून साक्षरता, भौगोलिक, लिङ्ग र जातका आधारमा कम्पनीहरूसँग न्यून तथ्यांकीय जानकारी लगायतका कारण भएको उनी बताउँछन् ।

‘समाजमा आफ्नो लागि नभएर आफन्तको लागि बीमा हो भन्ने भान परेको छ । यसमा बीमा कम्पनीहरूले सही तरिकाले बुझाउन नसकेको हो,’ अधिकारी भन्छन्, ‘बीमा मृत्यु पछि पाउने लाभ हो भन्ने कुराले पनि केही हद सम्म बीमाको पहुँचमा असर परेको छ ।’ यस्तै, जर्बजस्ति बीमा नीति बेच्ने अभिकर्ताको रवैयाका कारण पनि बीमाको पहुँच बढ्न नसकेको उनको भनाई छ ।

कुन कम्पनीको सरेण्डर कति ?
बीमा प्राधिकरणको तथ्यांक अनुसार यस त्रैमासम्ममा एलआईसी नेपालको सर्वाधिक बीमा पोलिसी सरेण्डर भएको छ । पुस मसान्तसम्ममा १३ हजार ९६८ वटा बीमा पोलिसी बापत २ अर्ब ३८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । दोस्रोमा रहेको नेपाल लाइफको १२ हजार २४१ वटा बीमा पोलिसीबापत २ अर्ब २ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीको ६७ करोड ६ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । त्यस्तै, एसियन लाइफ र नेशनल लाइफको ४६ करोड रुपैयाँको सरेन्डर भएको छ । सूर्य ज्योति लाइफको ३८ करोड ९४ लाख रुपैयाँ, हिमालयन लाइफको ३३ करोड ३३ लाख रुपैयाँ र मेट लाइफको १९ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।

यस अवधिमा सानिमा रिलायन्स लाइफको १३ करोड १२ लाख रुपैयाँ, आईएमई लाइफको नौ करोड ६ लाख रुपैयाँ, सिटिजन लाइफको ११ करोड ५८ लाख रुपैयाँ छ । प्रभु महालक्ष्मी लाइफको ९ करोड ८२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ५ करोड ५६ लाख रुपैयाँ र सन नेपाल लाइफको ३ करोड ५२ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।