दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका- १४ मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानी गर्छन् । उनले तोरी, चना, केराउ खेतीबाट राम्रै आम्दानी गरेका छन् । लिफ्ट सिँचाइले उनी सफल किसान बनेका हुन् ।
‘पहिले ९ बिघा जमिनमा तोरी, चना र केराउखेती गरे पनि उत्पादन कम हुन्थ्यो तर अहिले पहिलेको तुलनामा १० गुणाबढी उत्पादन हुन्छ । लिफ्ट सिँचाइका कारण यो सब सम्भव भएको हो’, उनले भने । उनले ५ बिघामा तोरी र बाँकी भूमिमा केराउ तथा चनाखेती गरेका छन् । उनी बेमौसमी सागसब्जी लगाउने योजनामा पनि छन् । कृषि उपज बेचेर बितेको याममा आफूले पाँच लाख बचत गरेको उनले बताए । उहाँ कृषि औजरको भरपूर उपयोग गर्ने किसानका रूपमा पनि मटेरामा परिचित छन् ।
मुश्किलले एक याममा मात्र खेती हुने मटेरामा हिजोआज सधैँ खेती हुने गरेको छ । साजसब्जी फलाउने गाउँका रूपमा यो गाउँको नयाँ परिचय पनि थपिएको छ । यही गाउँकी ४४ वर्षीया अष्टुमी चौधरीले तोरी तथा सागसब्जी बेचेर आर्थिक रूपमा आफू आत्मनिर्भर भएको बताइन् । उनले तीन बिघामा तोरी र तीन बिघामा सागसब्जी रोपेकी छन् ।
मेटेरा गाउँका एक सय घरका परिवार लिफ्ट सिँचाइका माध्यमबाट कृषिकर्म गरिरहेका छन् । एक करोड ५० लाख खर्चेर बबइको पानी लिफ्ट सिँचाइ आयोजनामार्फत किसानका खेतबारीमा पुगेपछि मटेराको मुहार फेरिएको हो । लुम्बिनी प्रदेश सरकारले मटेरा र लुहाडबरा गाउँलाई ‘स्मार्ट’कृषि गाउँ घोषणा किसानलाई तालिम, अनुदानमा कृषि औजार र बीउ वितरण गरी व्यावसायिक रूपमा कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको छ ।
प्रतिक्रिया