कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो

कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो


दाङ – कोइलाबास भन्सार कार्यालयमा राजस्व संकलन  घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा ७१ लाख रूपैयाँ मात्र राजस्व संकलन गरेको छ । नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ । ‘भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत गर्नेको सङ्ख्या घट्दै गएको छ’, कार्यालयका निमित्त प्रमुख वसन्त रजौरेले भने ।

यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्सजस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको गुनासो रहेको छ । गत साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो । यसमा नौ लाख रुपैयाँ राजस्व उठेको थियो । यो लक्ष्यको ७६ प्रतिशत हो ।

लक्ष्यभन्दा दुई लाख ७६ हजार रूपैयाँ कम राजस्व संकलन भएको छ । भदौमा १३ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यसमा छ लाख रूपैयाँ राजस्व संकलन भएको छ । लक्ष्यभन्दा सात लाख रूपैयाँ कम राजस्व संकलन भएको छ। असोजमा १३ लाख २६ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य लिएकामा सात लाख रूपैयाँ संकलन भएको छ । यो लक्ष्यभन्दा छ लाख रूपैयाँ कम हो ।

कात्तिकमा १२ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा नौ लाख रूपैयाँ संकलन भएको छ । यो ७०.९० प्रतिशत हो। तर, पनि लक्ष्यभन्दा तीन लाख रूपैयाँ कम राजस्व संकलन भएको छ । मङ्सिरमा १३ लाख ६८ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा नौ लाख रुपैयाँ संकलन भएको छ । यो ६५.१४ प्रतिशत हो । लक्ष्यभन्दा चार लाख ७६ रूपैयाँ कम राजस्व संकलन भएको छ ।

पुसमा १३ लाख रूपैयाँको लक्ष्य लिएकामा ३० लाख रूपैयाँ संकलन गरिएको छ । यो लक्ष्यको दुई सय २९ दशमलव ९२ प्रतिशत बढी हो । लक्ष्यभन्दा १७ लाख रूपैयाँ बढी राजस्व संकलन भएको निमित्त प्रमुख रजौरे बताउँछन् । भन्सार कार्यालयले चालु आवमा एक करोड ६५ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको निमित्त प्रमुख रजौरेले बताए ।

कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो । भारतीय सवारीसाधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतका रूपमा लिइएको उनले बताउँछन् । भारतबाट नेपाल आउने गाडीलाई दैनिक छ सय रूपैयाँ र मोटरसाइकलबाट प्रतिदिन दुई सय रूपैयाँ लिने गरेको उनले बताए ।

भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र केही खाद्यान्नलगायत अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट कोइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायत ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको कार्यालयले जनाएको छ ।