सिनेमा क्षेत्रमा ‘कर्पोरेट हाउस’को इन्ट्री, गोल्छा समूहको लगानीमा ‘परान’ घोषणा

सिनेमा क्षेत्रमा ‘कर्पोरेट हाउस’को इन्ट्री, गोल्छा समूहको लगानीमा ‘परान’ घोषणा


काठमाडौं – गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा तथा प्रिज्मा एड्भटाइजिङका प्रमुख रन्जीत आचार्यको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा सिनेमा निर्माणको औपचारिक घोषणा गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले ‘परान’ सिनेमा निर्माणको औपचारिक घोषणा गरेको हो ।

चर्चित हास्य टेलिशृंखला ‘सक्किगोनी’का चर्चित पात्र ‘काकु’ को भूमिका निर्वाह गरेका दीपक आचार्यले सिनेमालाई निर्देशन गर्ने छन् भने यो उनको डेब्यु निर्देशन पनि हुनेछ । ‘परान’ मा नीर शाह केन्द्रीय भूमिकामा देखिने छन् भने शाहका अलावा मदन कृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रविण खतिवडा, बुद्धि तामाङ, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, सुभाष गजुरेल, यमन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहने बताईएको छ ।

त्यस्तै सिनेमामा बालकलाकारका रूपमा निर्देशक आचार्यका कान्छा छोरा आर्यदीप आचार्य समेतको अभिनय रहनेछ । फागुनको पहिलो साताबाट सिनेमा फ्लोरमा जानेछ । सिनेमाको छायाङ्कन काठमाडौं तथा धनकुटामा हुनेछ । सिनेमा घोषणा कार्यक्रममा बोल्दै शेखर गोल्छाले आफू उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतमा जिल्ला–जिल्लामा हुने महोत्सवहरूमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रममा नेपालीपन नदेख्दा दिक्क लागेको बताउँदै त्यस्ता कार्यक्रममा जानु नपरे हुन्थ्यो जस्तो लाग्ने गरेको र सोही प्रकारको सन्देश आयोजकहरूलाई दिने गरेको प्रसङ्ग सुनाउँदै सिनेमा निर्माण गर्नु पछाडि नेपालीपन र संस्कृतिको समृद्धि रहेको बताए ।

‘यो सिनेमा गर्नुमा व्यवसायिक कारण त छँदैछ तर कुनै न कुनै तरिकाले भोलि मौलिकता पनि होस्, व्यवसायिकता पनि होस्, एउटा कर्पोरेट कल्चर पनि आओस्,’ उनले भने, ‘जसले गर्दा यसमा आबद्ध सबै कलाकार एउटा अनुबन्धमा होऊन्, समयमा भुक्तानी पाऊन् र यसमा सम्बन्धित जो पनि छ, कर लगायतका विषयमा पारदर्शिता होस् भन्ने सोचका साथ व्यवसायिक क्षेत्रको मान्छे यो क्षेत्रमा आएको छौँ ।’

कार्यक्रममा महानायक राजेश हमाल, वरिष्ठ हास्य अभिनेता हरिबंश आचार्य, कलाकार दीपाश्री निरौला, निशा अधिकारी, दिनेश डिसी, अशोक शर्मा, कृष्ण मल्लका साथमा उद्योगपति पशुपति मुरारका, सौरभ ज्योति, विदुषी राणा, भास्कर राज राजकर्णिकार, सांसद असीम शाह, क्यूएफएक्सका निर्देशकद्वय नकीम उद्दीन र भास्कर ढुंगाना लगायत व्यवसायीहरूको उपस्थिति रहेको थियो ।