काठमाडाैं – एसियाली देशका बीमा नियामक निकायहरूको संस्था एशियन फोरम अफ इन्स्योरेन्स रेगुलेटर्स (AFIR) को १९औँ वार्षिक बैठक र बीमा नियमनसम्बन्धी सातौं उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण, इन्टरनेशनल एसोशियसन अफ इन्स्योरेन्स सुपरभाइजर (IAIS), AFIR र फाइनान्सियल स्टेबिलिटि इन्स्टिच्युट (FIS) अफ द बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (BIS) को संयुक्त आयोजनामा माघ ७ देखि ९ गतेसम्म चलेको यो कार्यक्रममा जलवायु परिवर्तन, प्राकृतिक विपद्, र प्राविधिक विकासबाट उत्पन्न जोखिमहरूलाई सम्बोधन गर्न महत्त्वपूर्ण छलफलहरू भएका छन् ।
कार्यक्रममा नेपाल, भारत, चीन, युएईलगायत विभिन्न देशका प्रतिनिधिहरू, इन्टरनेशनल एसोसिएसन अफ इन्स्योरेन्स सुपरभाइजर (IAIS), र फाइनान्सियल स्टेबिलिटी इन्स्टिच्युट (FIS) अफ बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (BIS) का उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
बैठक तथा सम्मेलनको पहिलो दिन सहभागीहरूलाई स्वागत गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाले एसिया–प्रशान्त क्षेत्रका देशहरूका बीमा क्षेत्रका नियामक निकायहरूको बैठक तथा सम्मेलन नेपालमा आयोजना भएकोमा खुसी व्यक्त गरे । अध्यक्ष दाहाले जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण आइपर्ने जोखिमबाट पर्ने वित्तीय नोक्सानीलाई सम्बोधन गर्नका लागि एसिया–प्रशान्त क्षेत्रमा साझा बीमा पद्धति विकासको आवश्यकता औँल्याए ।
कार्यक्रमको सभापतित्व एएफआइआरका अध्यक्ष तथा Australian Prudential Regulation Authority का महाप्रबन्धक पिटर कोहिहागेन तथा Finalcial Stability Institute, Bank for International Settlements का अध्यक्ष फर्नाण्डो रेस्टोईले गरेका थिए । दोस्रो दिनको कार्यक्रममा जापानको Financial Service Agency का अन्तर्राष्ट्रिय मामिला उपमन्त्री शिगेरू अरिजुमीले विश्व बीमा बजारको विकास सम्बन्धी विशेष सम्बोधन गरेका थिए ।
दाहालका अनुसार, यो सम्मेलनले काठमाडौंलाई बीमा सम्बन्धी अन्तर्राष्ट्रिय संवादको केन्द्रको रूपमा सुदृढ गरेको छ । साथै, यसले नेपालको बीमा क्षेत्रलाई विश्वव्यापी स्तरमा संलग्न हुन महत्त्वपूर्ण अवसर प्रदान गरेको छ । उक्त कार्यक्रममा सहभागीहरूले बीमा क्षेत्रलाई थप सुदृढ बनाउन सहकार्य (Collaboration) र नवीन वित्तीय समाधान (Financial Solutions) विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सम्मेलनले दिगो वित्तीय प्रणाली (Sustainable Financial Ecosystem) को निर्माणका लागि नयाँ आयामहरू खोल्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमको समापनका अवसरमा अध्यक्ष दाहालले सफलताका लागि सबै सहभागी, आयोजक, र साझेदारप्रति आभार व्यक्त गर्दै भने, ‘यो सम्मेलनले बीमाको भविष्य निर्माण गर्न, सुदृढता प्रोत्साहन गर्न र सुरक्षित तथा दिगो वित्तीय प्रणाली बनाउन योगदान पुर्याएको छ ।’
प्रतिक्रिया