हेटौँडा उपमहानगरपालिकाद्वारा छ महिनामा १९ करोड राजस्व संकलन

हेटौँडा उपमहानगरपालिकाद्वारा छ महिनामा १९ करोड राजस्व संकलन


बागमती- मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/८२ को छ महिनामा १९ करोड ७४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार चालु आवको साउनदेखि पुससम्ममा उपमहानगपालिकाले विभिन्न शीर्षकमा १९ करोड ७४ लाख ३७ हजार नौ सय ९३ रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो अघिल्लो आव २०८०/८१ को सो अवधिको तुलनामा संकलन गरेको भन्दा तीन करोड १२ लाख रुपैयाँ बढी हो ।सो चालु आवको छ महिनामा सम्पत्ति करबाट चार करोड ९४ लाख ६१ हजार रुपैयाँ, घरबहाल करबाट दुई करोड ८१ लाख ७३ हजार रुपैयाँ , नक्सापास दस्तुरबाट दुई करोड ७६ लाख ६५ हजार रुपैयाँ, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट दुई करोड १८ लाख ७५ हजार रुपैयाँ, सिफारिस दस्तुरबाटएक करोड ६२ लाख ८३ हजार रुपैयाँ , बहाल बिटोरी करबाट एक करोड ३३ लाख ९२ हजार रुपैयाँ, व्यवसाय करबाट एक करोड ८३ लाख ११ हजार रुपैयाँ राजस्व संकलन भएको प्रमुख सुवेदीले जानकारी दिए।

अघिल्लो आव २०८०/८१ को सो अवधिमा उपमहानगरपालिकाले १६ करोड ६२ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। बाँकी बक्यौता असुलीमा गरिएको कडाइ, करको दर र दायरा दुवैमा भएको वृद्धि, नक्सा अभिलेखीकरण तथा आन्तरिक आयस्रोतमा भएको वृद्धिलगायत कारणले चालु आवको छ महिनामा राजस्व संकलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।