काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादनमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् । आज इप्पानको ‘सिल्भर जुबिलि’को उद्घाटन सत्रमा बोल्दै अध्यक्ष कार्कीले निजी क्षेत्रले नेपालको कूल जडित क्षमताको ठूलो हिस्सा बिजुली उत्पादन गरेर ऊर्जा विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताएका हुन् ।
नेपालको कूल जडित क्षमता ३ हजार ५०० मेगावट पुगेको छ । जसमध्ये, निजी क्षेत्रको लगानीबाट २७ सय ४० मेगावाट बिजुली उत्पादन भइरहेको छ । यो भनेको कुल उत्पादनमा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशतभन्दा बढी याेगदान हो । यसबाहेक, थप ४ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधिन छन् भने ४ हजार ३०० मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न भएर वित्तिय व्यवस्थापनको पर्खाइमा छन् ।
अध्यक्ष कार्कीका अनुसार १२ हजार ९६५ मेगावाट क्षमताका आयोजनाहरु अध्ययन सकेर विद्युत खरिद विक्री सम्झौताको पर्खाइमा छन् । यी मध्ये पनि ८० प्रतिशतभन्दा धेरै आयोजना निजी क्षेत्रले नै विकास गरिरहेको उनको भनाई छ । यस्तै मन्त्रीपरिषदबाट स्वीकृत भएको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१ नेपालको ऊर्जा उत्पादनमा महत्वपूर्ण र ऐतिहासिक कदम भएको समेत कार्कीको भनाई छ ।
मार्गचित्रमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने र १३ हजार ५०० मेगावाट विद्युत नेपालमै खपत गर्ने तथा बढी भएको विद्युत छिमेकी मुलुकमा निर्यात गर्ने लक्ष्य राखिएको छ । ‘हामी पनि बढीभन्दा बढी विद्युत स्वदेशमै खपत गर्नको लागि पहल कदमी लिन्छौ,’ उनले भने, ‘विद्युतीय गाडीदेखि विद्युतीय चुल्होसम्मको प्रवद्र्धनमा इप्पान लागिरहेको छ ।’
विद्युत उत्पादनको लक्ष्य प्राप्त गर्नको लागि ६२ खर्ब रुपैयाँ लगानी चाहिने र त्यो मध्ये ४० खर्ब रुपैयाँ स्वदेशमै रहने समेत कार्कीको भनाई छ । यस्तै, जलविद्युत क्षेत्रमा हुने लगानीले वार्षिक ७ लाख रोजगारी सिर्जना हुनेछन् ।
प्रतिक्रिया