काठमाडौं – सूर्यज्योती लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले नेपाल बीमा प्राधिकरणले इन्सुरटेकका लागि कम्पनीहरूलाई बाटो खोलिदिएको बताएका छन् । ‘नेशनल इन्स्योरेन्स डिस्कोर्श, २०२५’ को तेस्रो सत्रमा बोल्दै खत्रीले प्राधिकरणले ‘डिजिटल इन्स्योरेन्स नीति मार्गदर्शन, २०२४’ जारी गरेर डिजिटलरुपमा काम गर्न कम्पनीहरूलाई बाटो खोलिसकेको बताएका हुन् ।
‘बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरू’नामक सेसनमा बोल्दै खत्रीले भने, ‘२०८१ वैशाखमा प्राधिकरणले ल्याएको मार्गदर्शनले डिजिटलमाध्यमबाट बीमा पोलिसि बिक्री, दाबी र भुक्तानीका लागि बाटो खुला गरेको छ ।’ मार्गदर्शनमा डिजिटल इन्स्योरेन्स एकाउन्ट स्थापना र डिजिटल इन्स्योरेन्स पोलिसि लगायतको योजना रहेको उनको भनाई छ ।
मार्गदर्शनमा जीवन बीमाका लागि २० लाखसम्म फाइनान्सियल अन्डराइटिङ र मेडिकल अन्डरराइटिङ गर्न नपर्ने र २० लाख सम्मको पोलिसि बिक्री गरेर इलेक्ट्रोनिक फर्ममा पनि राख्न मिल्छ,’ उनले भने, ‘त्यसमा ओटीपीलाई पनि मान्यता दिएको छ ।’ यी यो वर्ष मात्रै सुरु भएकाले विद्युतीय माध्यमबाटै सबै प्रक्रिया पुर्याइएको छ भने दाबी भुक्तानी समेत दिन सक्ने व्यवस्था गरिएको छ ।
यस्तै, नेपालको बीमा क्षेत्रको भविष्य प्रविधिको अवलम्बन भएपनि धेरै कम्पनी प्रविधिको प्रयोगमा अघि नबढेको उनको भनाई छ। ‘धेरै कमपनीहरु प्रविधि प्रयोगको पहिलो चरणमा छन् भने केही कम्पनीले प्रविधिको प्रयोग नै सुरु गरेका छैनन्,’ उनले थपे, ‘यसआधारमा बीमा कम्पनीहरू प्रविधिको प्रयोगमा आ–आफ्नो चरणमा छन् ।’ खत्रीका अनुसार नेपालका बीमा क्षेत्र अहिले नै एआई, ब्लकचेन, मसिन लर्निङ र अटोमेसनका कुरा गर्ने चरणमा पुगेका छैनन् ।
यस्तै, सबै बीमा सम्बन्धी सेवा अनलाईनमार्फत दिने चरणमा कम्पनीहरू पुगिसकेका छैनन् । ‘यद्यपि, कम्पनीहरू विभिन्न खुड्किला पार गरेर अघि बढ्दै छन्,’ खत्रीले भने, ‘सबै कम्पनी एउटै चरणमा पुगेका छैनन् । केही कम्पनीहरू डिजिटलरुपमा अघि बढेका छन्, पूर्णरुपमा अनलाईनमा गएका छैनन् ।’ यद्यपि, प्राधिकरणले दाबी भुक्तानीबारे जानकारी सेवाग्राहीलाई एमएमएसमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ । यो पनि डिजिटलको हिस्सा भएको उनको भनाइ छ ।
यसैगरी, विगतमा कम्पनीहरुबीच व्यवसाय बढाउने, पोर्टफोलियो विस्तार र धेरै बोनस दिने लगायतका क्षेत्रमा मात्रै प्रतिस्पर्धा हुन्थ्यो । तर, पछिल्लो समय सबै कम्पनीहरुबीच उच्चतम प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई सेवा दिने प्रतिस्पर्धा समेत बढ्न थालेको छ । यससँगै, कम्पनीहरूको लागत, सेवामा चुस्तता र तथ्याङ्क सुरक्षा र व्यवस्थित बन्न थालेको खत्रीको भनाई छ । ‘अब प्रविधिको प्रयोग बढाउन सक्ने कम्पनी नै भविष्यमा विजेता बन्नेछ,’ खत्रीले भने ।
प्रतिक्रिया