पाँच महिनामा एक हजार बढी आगलागीका घटना, ५० करोड बराबरको क्षति

पाँच महिनामा एक हजार बढी आगलागीका घटना, ५० करोड बराबरको क्षति


काठमाडौं – पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ ओटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट १४५ जना घाइते भएका जानकारी दिए । उनका अनुसार आगालागीबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र ४५५ पशुचौपायको क्षति भएको छ । 

आगालागी नियन्त्रणका लागि ५ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । आगालगीबाट करिब ५० करोड रुपैयाँ बराबर क्षति भएको प्रवक्ता अधिकारीले बताउँदै २९ परिवार विस्थापित भएका जानकारी दिए । सबैभन्दा बढी कोशी प्रदेशमा ३३१ स्थानमा आगलागी भएका छन् । प्रहरीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशमा २६९, बागमतीमा ७०, काठमाडौँ उपत्यकामा १४०, गण्डकी प्रदेशमा ८१, लुम्बिनीमा ११४, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ६० ओटा आगलागीका घटना भएका छन् । 

दैनिक रूपमा आगलागीका घटना भइरहेका भन्दै हिजो मात्रै देशभरका १९ ठाउँमा आगलागी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती आगलागीबाट दुई जना घाइते भएका प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए। दैनिक आगलागीका घटना भइरहेकाले आगो, विद्युत् तथा ग्यासका सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । विद्युत् सर्ट, ग्यास चुहिएर र जाडोमा आगो ताप्दा असावधानीलगायत कारणले आगलागीका घटना बढिरहेका प्रवक्ता भट्टराईले बताए ।