दुई करोडभन्दा बढी लागतमा च्याङग्रे पोखरी संरक्षण

दुई करोडभन्दा बढी लागतमा च्याङग्रे पोखरी संरक्षण


भोजपुर – च्याङग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण काम अन्तिम चरणमा पुगेको छ । पौवादुङमा गाउँपालिका केन्द्रको प्रमुख सौन्दर्यका रुपमा रहेको च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल संरक्षणको काम लगभग सम्पन्न हुने अवस्थामा पुगेको हो ।

सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा दुई करोड रुपैयाँभन्दा बढी लागतमा पोखरी संरक्षण भइरहेको छ । गाउँपालिकाले पोखरी तथा मन्दिर आसपासमा रहेका बस्तीलाई हटाएर पोखरीको संरक्षण गरिरहेको छ । पोखरी तथा पञ्चकन्या देवस्थलको विकास तथा विस्तारका लागि गाउँपालिकाले मुआब्जा दिएर यहाँका दुईवटा घर र तीन कित्ता जग्गा अधिकरण गरेको छ ।

सम्झौताअनुसार विसं २०८२ को जेठ १४ गतेसम्ममा पूर्ण रुपमा काम सम्पन्न गर्नेगरी दुई करोड १३ लाख रुपैयाँ लागतमा संरक्षणको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । पोखरी निर्माणको वित्तीय प्रगति ६५ प्रतिशत र भौतिक प्रगति ७५ प्रतिशत रहेको प्रशासकीय अधिकृत भट्टराईले बताए ।

‘च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण भइरहेको छ,’ प्रशासकीय अधिकृत भट्टराईले भने, ‘हालसम्म यहाँको ७५ प्रतिशत काम सम्पन्न भएको छ । आगामी जेठ महिनासम्म काम सक्नुपर्ने सम्झौता रहेको छ । तोकिएको समय अवधिमा सम्पन्न गराउने लक्ष्यका साथ काम अघि बढाएका छौँ ।’ केन्द्र सरकारबाट आउने बजेट समयमा नआउँदा काममा ढिलाइ हुने गरेको उनको भनाइ छ । संरक्षण भइरहेको पोखरीलाई पर्खालले घेर्ने, मन्दिर निर्माण गर्ने, पोखरी वरिपरि बगैँचा निर्माण गर्ने, शौचालय, विश्रामस्थल, बालबालिका र ज्यष्ठ नागरिकका लागि पार्क बनाउने र पोखरीमा ‘बोटिङ’ गर्न सक्नेगरी संरचना निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ ।

पोखरीको बृहत्तर विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर थप विकास तथा संरक्षणको गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । पोखरीको मौलिकतालाई यथावत् राख्दै आधुनिक प्रविधिको प्रयोग गरेर विकासको काम भइरहेको अध्यक्ष राईको भनाइ छ । पालिका केन्द्रको मुख्य पर्यटकीय क्षेत्र रहेकाले यसलाई प्राथमिकतामा राखेर विकासको काम भइरहेको उनको भनाइ छ ।

‘गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रूपमा लागेका छौँ,’ अध्यक्ष राईले भने, ‘यहाँका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको डिपिआर बनाइसकेका छौँ । च्याङ्ग्रे पोखरी र पञ्चकञ्या देवस्थलको संरक्षण गरिरहेका छौँ । तर स्थानीय सरकारलाई आएको बजेटबाट सवै काम गर्न निकै समस्या छ । यो स्थानलाई स्थापित पर्यटकीय क्षेत्र बनाउने हाम्रो लक्ष्य छ ।’

पोखरी पर्यटकीय सम्भावना बोकेको गन्तव्य भए पनि ओझेलमा परेकाले यसको विकाससँगै प्रचार–प्रसारमा जोड दिइएको अध्यक्ष राईको भनाइ छ । पोखरीको प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकहरु पुग्ने गरे पनि बाह्य पर्यटक भने कमै मात्र आउने गरेका छन् । परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी खाने, पानी खाएर पोखरीमै दिनभर आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामकरण गरिएको स्थानीयवासीको कथन छ ।

परापूर्वकालदेखि नै पोखरीको पानी जुनसुकै खडेरीमा पनि नसुक्ने स्थानीयवासी निरबहादुर फुयालले बताए । ‘च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको छुट्टै धार्मिक तथा ऐतिहासिक महत्व छ,’ उनले भने, ‘यसको विकासमा स्थानीय सरकारले गरिरहेको काम प्रशंसायोग्य छ । यस्ता ऐतिहासिक क्षेत्रको संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्छ । मैले पनि पोखरीको संरक्षणका लागि जग्गा प्रदान गरेको छु ।’

यही पोखरीको नामबाट यहाँ च्याङ्ग्रे बजारसमेत लाग्ने गरेको छ । अहिले यो बजार पौवादुङमा गाउँपालिकाको मुख्य बजारका रुपमा विस्तार भएको छ । विश्राम गर्ने, घुम्ने, डुल्न, तस्बिर लिन, दृश्यावलोकनको भरपुर आनन्द उठाउन आन्तरिक पर्यटक यहाँका आउने गरेको स्थानीयवासी राम पुलामी मगरले बताए । यसको संरक्षणपश्चात् यहाँको पयर्टनमा ठूलो टेवा पुग्ने उनको भनाइ छ ।

विभिन्न पूजाआजामा पोखरीकै छेउको पञ्चकन्या मन्दिरमा भक्तालुको ठूलो जमघट हुने स्थानीयवासीको भनाइ छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको यो स्थानको प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धन गर्नसके आर्थिक रुपमा समेत टेवा पुग्ने स्थानीयवासीको भनाइ छ । यहाँको पर्यटकीय क्षेत्रको थप विकासका लागि यो पोखरी नजिकै रहेको काली खोलामा झोलुङ्गे पुलसमेत निर्माण सम्पन्न भएको छ । यो पुलमा पुगेर मानिसहरुले पोखरीको दृश्यावलोकन गर्दै आएका छन् ।