पर्वत- यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ । नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास– ४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ ।
यो उद्योगले लप्सीबाट माडा, अचार, क्यान्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्यान्डीलगायत परिकार बनाउँदै आएको छ । विगत डेढ दशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस वर्ष झन्डै रु. ७० लाखबराबरको कारोबार गर्ने लक्ष्य राखको छ । उद्योगमा यस वर्ष झन्डै ६० टन लप्सी प्रशोधनको तयारी गरिएको छ ।
गाउँगाउँबाट लप्सी संकलन गर्ने र अचार, माडा बनाउने तथा क्यान्डीका लागि गुदी निकालेर राख्ने काम भइरहेको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिए । पर्वतमा झन्डै दुई सय मेट्रिक टन लप्सी उत्पादन हुने भए पनि ३० प्रतिशत मात्र प्रशोधन गर्न सकिएको उनको भनाइ छ । बाँकी केही कृषकहरूले बोटबाटै दाना बिक्री गर्दै आएका छन् भने जनशक्तिको अभावले टिप्न नसक्दा बोटमै खेर जाने गरेको भुसालले बताए ।
जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको सञ्चालक भुसालको भनाइ छ । कोरोना संक्रमणमा अमेरिका, अस्ट्रेलिया, हङकङगायतका देशमा समेत निर्यात गरेको भए पनि अहिले भने स्वदेशकै बजारमा निर्भर हुनुपरेको उनको भनाइ छ । भुसालले सञ्चालन गरेको उद्योगमा सातजनाले रोजगारी पाएका छन् । लप्सीसँगै अमला, अदुवालगायत परिवार बनाएर हुने कुल आम्दानीबाट खर्च कटाएर वर्षमा रु. १० देखि १२ लाखसम्म बचत हुने गरेको उनले बताए ।
चार वर्ष पहिले उत्पादित लप्सीका दश लाखबराबरका परिकारहरू अमेरिका पठाएका भुसालले नेपालमा भन्दा पनि बढी विदेशमा माग रहे पनि अहिले पठाउने संयन्त्र नरहेको बताए । नेपालीहरूले विदेश फर्किँदा कोसेली र पाहुरको रूपमा लैजानेबाहेक व्यावसायिक हिसाबले उद्योगबाटै होलसेलमा विदेश पठाउन नसकिएको उनको भनाइ छ ।
जिल्लाका झन्डै ४० वटा वडामा लप्सीको उत्पादन हुँदै आएको छ । कुनै बेला जंगलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो स्राेत बनेको हो । वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि लप्सीको व्यावसायिक खेती समेत सुरु भएको छ । सामुदायिक खाद्य प्रशोधन उद्योगले कृषकलाई लप्सी खेतीतर्फ आकर्षित गर्नका लागि निःशुल्क बिरुवासमेत वितरण गर्दै आएको छ ।
उद्योगमा लप्सीसँगै अदुवा, अलैँची, अमला, बेसार, टिमुर, खुर्सानीलगायतको प्रशोधनसमेत हुँदै आएको छ भने पछिल्लो दुई वर्षयता मकैको सातु उत्पादनबाट समेत लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेको सञ्चालक भुसालले बताए । लप्सी, अमला र अदुवा सिजनको वेलामा प्रशोधन हुने भए पनि मकै, भटमास, बदामलगायतको मिक्स सातु बाह्रैमास उत्पादन हुने सञ्चालक भुसालले बताए ।
प्रतिक्रिया