काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका-१० का २८ वर्षीय राकेशकुमार रावत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका- ११ का ३३ वर्षीय दूधराज थिङ र दाङ तुलसीपुर उपमहानगरपालिका-५ का ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राकेशलाई काठमाडौं महानगरपालिका-९ बाट शुक्रबार, दुधराजलाई ललितपुर महालक्ष्मी नगरपालिका-९ बाट र प्रभालाई ललितपुर महानगरपालिका-१० बाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये राकेशले मौरिसस पठाइदिन्छु भन्दै एक जना पीडितबाट छ लाख ४५ हजार रूपैयाँ, दुधराजले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट सात लाख ५० हजार रूपैयाँ र प्रभाले सिंगापुर पठाइदिन्छु भन्दै एक जना पीडितबाट सात लाख आठ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया