मकवानपुर – मकवानपुरको दुर्गम क्षेत्र मानिने राक्सिराङ गाउँपालिकाका स्थानीयद्वारा उत्पादित कृषिउपजले सहज रूपमा बजार पाउन थालेको छ । गाउँपालिकाले स्थानीयस्तरमा उत्पादिन वस्तुको बजारीकरण गर्ने उद्देश्यले राक्सिराङ–५ को चैनपुरमा हाटबजार लगाउन सुरु गरेको हो ।
‘पहिला नजिकमा हाटबजार थिएनन्, त्यसैले यहाँ उत्पादित हरियो सागपात, तरकारी तथा गेडागुडी, बाँसका समानलगायत वस्तुले बजार पाउन सकेको थिएन्’ , स्थानीय सुमन चेपाङले भने, ‘गाउँमा हाटबजार लाग्न थालेसँगै स्थानीय उत्पादनले पाएको छ ।’ यसले कृषकद्वारा उत्पादित कृषि उपजले सहज रूपमा बजार पाएसँगै स्थानीय हर्षित भएका छन् ।
गाउँपालिकाको पहलमा प्रत्येक महिनाको १ र १५ गते चैनपुरमा हाटबजार लाग्ने गरेको छ । हाटबजार लागेसँगै स्थानीयलाई आफ्नो सामान बजारसम्म पुर्याउन र दैनिक उपभोग्य वस्तु खरिद गर्न सहज भएको सुमनले उल्लेख गरे। हाटबजारमा स्थानीयले उत्पादन गरेका वस्तु मात्र बिक्री वितरण गर्न पाउने गरी नियम बनाएर सञ्चालन गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । स्थानीयको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले विसं २०७९ वैशाखदेखि चैनपुरमा हाटबजार लाग्न सुरु भएको थियो ।
‘विभिन्न कारणले केही महिनादेखि हाटबजार बन्द भएको थियो’ , अध्यक्ष मल्लले भने, ‘आगामी दिनमा हाटबजारलाई निरन्तरता दिने गरी बजारको व्यवस्थापन गरेका छौँ ।’ चैनपुरको हाटबजारमा चिउरीको मह, उसिनेको गिठ्ठा, भ्याकुर तथा गेडागुडी, बाँसको पेरुङ्गोलगायत कृषिउपज र स्थानीय समान राख्ने गरिएको छ । यहाँ तामाङ, चेपाङ, मगर र राई जातिको बहुलता रहेको छ ।
प्रतिक्रिया