म्याग्दी – मालढुंगा–बेनी सडक अन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम– कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो । कुश्मा नगरपालिका– १ माझी बस्तीबाट जलजला गाउँपालिका– ८ खनिया घाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो ।
तेह्र किलोमिटर लामो बेनी–मालढुंगा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न ५२ करोड ८६ लाख रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएको आयोजनाका सब इञ्जिनियर सोहनजंग कार्कीले बताए ।
विभिन्न स्थानमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, ‘सवबेस’, ‘बेस’ राख्ने र ‘ग्रेडिङ’ जारी छ । यसैबीच, बागलुङको गलकोटबाट रासस प्रतिनिधिले सम्प्रेषण गरेको समाचारअनुसार बोक्से–सिगाना सडक पनि धमाधम कालोपत्र भइरहेको छ ।
दश किलोमिटर सडकमध्ये पहिलो चरणमा छ किमी कालोपत्र गर्न बोक्सेबाट काम सुरु भएको हो । आगामी चैतसम्ममा छ कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । दश किमी कालोपत्र गर्न २९ करोड ३७ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
प्रतिक्रिया