‘मेरो लागि सबै क्षेत्रको चोट निको पार्ने मलहम बन्यो बीमा’

‘मेरो लागि सबै क्षेत्रको चोट निको पार्ने मलहम बन्यो बीमा’


काठमाडौं – भनिन्छ, मान्छे जन्मिँदा नै भाग्य तय गरेर आउँछन्, लगन र मिहिनतेले मात्रै पुग्दैन। सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीकाे पेप्सीकोला शाखाका एजेन्सी म्यानेजर सन्जय ढकालको अनुभवले पनि यस्तै भन्छ । ‘जीवनमा धेरै मिहिनेत र लगनपछि पनि केही कुराहरू भाग्यमा नै भरपर्छन्,’ सञ्जय भन्छन् । बीमा क्षेत्रमा प्रवेश गर्नु पूर्व तनावपूर्ण र कठिन समय बिताएको ढकाल बताउँछन् ।

जीवनमा धेरै क्षेत्रमा प्रवेशको प्रयास गरेका ढकाल बीमा क्षेत्रमा पसेपछि असफल प्रयासमा पूर्णविराम लागेको बताउँछन् । सिन्धुपाल्चोक बाडेगाउँ जन्मे हुर्केका ढकाल माओवादीको शसस्त द्वन्द्वका कारणले परिवारसहित मन्दनदेउपूर नगरपालिकामा बसाई सरे । समय बित्दै जाँदा द्वन्द्वकालको प्रभावले सञ्जय पढाई छाडेर युद्धमा होमिए । युद्धमा होमिएपछि उमेर हदका कारणले ढकाल विद्यार्थी सङ्गठनमा काम गर्न थाले ।

तर, युद्धमा होमिएर लड्दै गर्दा आफ्नै नेताहरूको विलासिताको जीवन देखे र युद्ध क्षेत्रमा भविष्य छैन भन्ने निष्कर्षमा पुगेर तत्कालीन अवस्थाबाट पर जाने निर्णय गरे । त्यसपछि, देशभक्तिका नाममा छुटेको पढाइलाई पुरा गर्ने सोचसहित पढ्दै दाइको फर्निचरको व्यवसायमा हात अघि बढाए । त्यसपछि, विदेश जाने सोचसहित कोरिया जाने सबै प्रक्रिया पुरा गरेपछि दुर्घटनामा परे र उड्न पाएनन् ।


भाग्यले डोराएको बीमाको बाटो
सबै क्षेत्रको ढोका ढकढक्याएपछि उनी अन्त्यमा बीमा क्षेत्रमा आए र उनले आफू अस्पतालमा बस्दा नै बीमाको फाइदा देखेर आकर्षित भइसकेका थिए । यसैक्रममा नेपाल लाईफ इन्स्योरेन्सकै कर्मचारीसँग बुझेर उनले ‘बिजनेस कोरडिनेटिर’ भएर काम गर्न सुरूवात गरे । सञ्जय भन्छन्, ‘नेपाल लाईफ इन्स्योरेन्समा विजनेस कोरडिनेटिर भएर काम गर्दै गर्दा सिटिजन्स लाईफ इन्स्योरेन्सबाट अफर आयो र त्यसलाई स्वीकार गरे ।’

सिटिन्ज लाईफमा काम सुरु गरेको केही समयमा नै एजेन्सी म्यानेजर बने । अहिले पेप्सीकोला शाखाको एजेन्सी म्यानेजरको रूपमा काम गरिरहेका ढकाल १ सय जनाभन्दा बढीलाई बीमामा ल्याइसकेको दाबी गर्छन् । ‘सबै ठाउँबाट हार खाएपछि बीमा क्षेत्रले आफूलाई उचित मार्गदर्शन दियो,’ उनी भन्छन्, ‘बीमामा काम, सम्मान, कमाई पनि राम्रो छ ।’ यहीक्रममा उनले अभिकर्ताकारुपमा ४ वटा देश भ्रमण गर्ने मौका पनि पाए । ‘जीवनमा जे लेखिएको छ त्यही हुने हो,’ उनी थप्छन्, ‘यो कार्यकालमा विभिन्न सम्मान पनि पाइसकेको छु ।’


‘बीमा सामाजिक सेवा हो’
‘म आँफैले बीमाको महत्व उपचारका लागि अस्पतालमा छटपटाउँदा बुझेको हो,’ ढकालले भने, ‘अस्पतालमा भएको खर्चमा बीमाले कभर गरिदिएको हुँदा मलाई धेरै सहज भएको थियो ।’ बीमाले धेरैलाई असहज अवस्थामा पनि सहयोग गर्ने हुँदा बीमा सामाजिक सेवा हो । मानिसहरूको मानसपटलमा बीमा भनेको मृत्यु पछि पाउने सुविधा हो भन्ने बुझाई छ । तर, यसले समस्या र ठुला आपत्कालीन समस्यामा सहयोगी भूमिका खेल्छ । बीमाको फाइदालाई बुझेर हामीले पोलिसी बेच्ने हो । ढकाल अरुको दुखमा केही सहयोग गर्न पाउँदा अत्यन्तै खुसी रहेको बताउँछन् ।

‘अभिकर्तालाई दलालभन्दा दुःख लाग्छ’

बीमा क्षेत्रमा लागेको अभिकर्तालाई समाजले हेर्ने ध्ययको नजरबाट उने ढकाल दुःखी छन् । ‘अभिकर्ताहरू प्रति गलत बुझाई हुनु समग्र बीमा क्षेत्रको लागि पनि हानिकारक छ,’ ढकाल थप्छन्, ‘बीमाको प्रचार गर्नको लागि खटिरहेका अभिकर्ताहरूको मिहिनेतलाई  नहेरेर अभिकर्ताहरू दलाल हो पैसा खान्छन् भन्ने खालको सोचाई राख्नु गलत हो ।’ लगायत सबै अभिकर्ताहरूको लाग्ने आरोप हटाउन नियामकीय निकायसहित सम्पूर्ण कम्पनीहरू लाग्नुपर्ने उनको भनाइ छ ।