काठमाडौं – बीमा पोलिसी खरिद गरी तोकिएको अवधि पूरा नभई पोलिसी त्याग्नुलाई बीमा ‘सरेण्डर’का रुपमा बुझिन्छ । बीमितले बीमा पोलिसी किनेपछि समय–समयमा बीमाको नीतिअनुसार प्रिमियम बुझाउनुपर्ने हुन्छ । केही कारणवश बीमित शुल्क तिर्न छोड्नु र बीमा गरेको रकम फिर्ता लिनु नै बीमा सरेण्डर हो । ‘सरेण्डर’ अङ्ग्रेजी शब्द हो भने नेपालीमा समर्पण भनिन्छ ।
यसलाई उदाहरणसहित यसरी बुझ्न पनि सकिन्छ । मानौँ रामले कुनै पनि जीवन बीमा कम्पनीमा बीमालेख किनेको छ, या बीमा गरेको छ भनौँ । रामले केही कारणवश शुल्क बुझाउन छाडेर त्यसलाई निरन्तर नदिने सोचमा पोलिसी त्याग्ने काम नै सरेण्डर हो। हामीले आफूसँग पैसा भएको बेलामा बीमा पोलिसी किन्छौँ र आफूलाई खर्च अभाव भएको बेलामा बीमालाई निरन्तरता नदिई आफूले जम्मा गरेको रकम र बीमा बापत प्राप्त हुने बाँकी सबै रकम लिएर कुनै पनि बीमाबाट बाहिरिन्छौ भन्ने त्यही नै हो सरेण्डर हो ।
किन हुन्छ सरेण्डर ?
बीमितले बीमा पोलिसी त्याग्नुमा धेरै कारणहरू हुन्छन् । अभिकर्ताहरूले ग्राहकको आर्थिक अवस्था नै नबुझी बीमा पोलिसी बेच्दा पनि बीमा पोलिसी त्याग्नुको कारण हुन् सक्छ । ग्राहकलाई पैसाको आवश्यक भएको खण्डमा, प्रिमियम तिर्न कठिनाइ भएको अवस्थामा पनि बीमा सरेण्डर हुन् सक्ने सम्भावना बढी हुन्छ ।
बीमा सरेण्डर हुने कारक तत्वहरु:
१. ग्राहकले बीमाको नीति नबुझेको खण्डमा : ग्राहकहरुले अभिकर्ताहरुको अनुरोधमा मात्र बीमा पोलिसी किनेको अवस्थामा पछि गएर प्रिमियम तिर्न वा बीमाबाट सोचेको जस्तो नाफा नपाँउदा पनि बीमा सरेण्डर हुन् सक्ने सम्भावना बढी हुन्छ ।
२. प्रिमियम तिर्न कठिनाई भएको अवस्थामाः बीमितले प्रिमियम तिर्न नसक्ने स्थिति आएमा पनि बीमा सरेन्डर हुन्छ ।
३ बीमाको फाइदा अपेक्षाअनुसार नदेखिँदा: बीमाले दिने फाइदा उपयोगी वा लाभदायक लागेन भने पनि बीमा समर्पण हुन् सक्छ ।
४ अरू कम्पनीको राम्रो योजना फेला पर्नु: अन्य बीमा कम्पनीहरुको सेवा राम्रो र उपयोगी लागेपछि पुरानो योजना त्याग्ने सम्भावना बढी हुन्छ ।
५ आवश्यकता समाप्त हुनु: बीमाको उद्देश्य पूरा भइसकेको वा त्यस्तो आवश्यकता नरहेपछि बीमितले बीमा सरेण्डर गर्ने गरेको पाइन्छ ।
बीमा सरेण्डर गर्दा सरेण्डर भ्यालुू मात्र पाइने भएकाले, पहिले फाइदा र घाटा राम्रोसँग मूल्यांकन गर्नु जरुरी हुन्छ । बीमा गर्ने र बीमा गराउने दुबै पक्षले बीमाको राम्रो सँग बुझेर गरिएमा सरेण्डर केस कम हुन् सक्छ । बीमा अभिकर्ताहरुले बीमितहरुलाई सम्झाउन नसकेको अवस्थामा बीमितहरुले पोलिसी सरेण्डर गर्ने गरेका छन् । बीमित र अभिकर्ता दुबै पक्षले आवश्यकता मूल्याकन गरेर मात्र बीमा गर्नुपर्छ ।
४ महिनामा पाँच अर्बको ‘पोलिसी सरेण्डर’
सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म करिव पाँच अर्ब रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुबाट ४ अर्ब २ करोड ९७ लाख रुपैयाँ बराबरका पोलिसी सरेण्डर भएका छन् । यस अवधिमा ३५ हजार ९५ जनाले उक्त रकम बराबरका पोलिसी सरेण्डर गरेका हुन् ।
प्रतिक्रिया