ठुला उत्पादन उद्योगको मूल्य अभिवृद्धि ५ वर्षमा डेढ खर्बले बढ्यो, लागत र उत्पादन अनुपात भने घट्यो

ठुला उत्पादन उद्योगको मूल्य अभिवृद्धि ५ वर्षमा डेढ खर्बले बढ्यो, लागत र उत्पादन अनुपात भने घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

ठुला उत्पादनशील औद्योगिक प्रतिष्ठानहरुको लागत र उत्पादन अनुपात घटेको एक अध्ययनले देखाएको छ । ५ वर्षको अवधिमा त्यस्ता उद्योगको मूल्य अभिवृद्धि भने डेढ खर्ब बढीले बढेको अध्ययनले देखाएको हो ।

केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतिजामा ठूला उत्पादनशिल औद्योगिक प्रतिष्ठानहरुको लागत र उत्पादन अनुपात ०.७५ बाट ०.७३ मा झरेको देखाएको हो । राष्ट्रिय औद्योगिक गणना, २०६९ मा त्यस्ता उद्योगको लागत र उत्पादन अनुपात ०.७५ रहेकोमा २०७६ को सर्वेक्षणमा उक्त अनुपात घटेर ०.७३ रहेको देखिएको हो ।

ठूला उत्पादनशिल औद्योगिक प्रतिष्ठानहरुको लागत मूल्य, उत्पादन मूल्य र मूल्य अभिवृद्धिमा अघिल्लो सर्वेक्षणको तुलनामा पछिल्लो सर्वेक्षणमा वृद्धि भएको देखिएको छ । राष्ट्रिय औद्योगिक गणना, २०६९ मा ठूला उत्पादनशिल औद्योगिक प्रतिष्ठानहरुले करिब २ खर्व ४१ अर्ब ७७ करोड मूल्य बराबरको रकम लागतको रुपमा खर्च गरेर करिब ३ खर्व २२ अर्ब ५५ करोड मूल्य बराबरको औद्योगिक बस्तु उत्पादन गरेका थिए ।

२०७६ मा सोही समुहका प्रतिष्ठानहरुले करिब ६ खर्व २५ अर्ब ७२ करोड बराबरको रकम लागतको रुपमा खर्च गरी करिब ८ खर्व ६१ अर्ब ५ करोड मूल्य बराबरको औद्योगिक बस्तु उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस आधारमा २०६९ सालमा ठूला उत्पादनशिल औद्योगिक प्रतिष्ठानहरुले नेपालको अर्थतन्त्रमा करिब ८० अर्ब ७८ करोड बराबरको मूल्य अभिवृद्धि गरेका थिए भने २०७६ मा आईपुग्दा त्यस्तो रकम बढेर करिब २ खर्व ३५ अर्ब ३३ करोड बराबरको मूल्य अभिवृद्धि गरेका हुन् ।

राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ को सन्दर्भ अवधि २०७५ श्रावण १ गते देखि २०७६ आषाढ मसान्तसम्म अर्थात् आर्थिक वर्ष २०७५/७६ रहेको छ ।