अन्तरवार्ता

‘बीमामा सर्भे सजिलो पेशा होइन, निष्पक्ष नतिजा निकाल्न सक्नुपर्छ’

‘बीमामा सर्भे सजिलो पेशा होइन, निष्पक्ष नतिजा निकाल्न सक्नुपर्छ’


काठमाडौं – मानव जीवनमा बीमा महत्त्वपूर्ण अङ्ग बनिसकेको छ । जीवनमा बीमा महत्त्वपूर्ण भए जस्तै बीमा क्षेत्रमा सर्भेयरहरु महत्त्वपूर्ण छन् । किनकि, सर्भेयरले नै बीमाको दाबी भुक्तानीमा भूमिका खेल्छन् । उनीहरूले स्वतन्त्ररुपमा स्थलगत निरीक्षण गरेर बिमित, बीमक, बीमा कम्पनी तथा बीमा नियामकलाई जोखिमको यथार्थ मूल्याङ्कन गर्छन् । सर्भेयरहरुले सर्भे गरी बीमितलाई न्याय दिलाउने काम गर्ने भएका कारण बीमा क्षेत्रको न्यायधीस हो भन्न पनि सकिन्छ ।

गत असोजमा गएको बाढी पहिरोका कारण क्षतिको बीमा कम्पनीहरूमा ठुलो दायित्व थपियो । दाबी प्रक्रिया छिटो हुनका लागि पनि सर्भेयरहरुको भूमिका महत्त्वपूर्ण हुन्छ । यस्तै विषयमा केन्द्रित भएर बैकिङ्ग समाचारले नेपाल बीमा सर्भेयर सघंका महासचिव विकास महर्जनसँग गरेको अन्तरवार्ताको सम्पादित अशं :–

असोज दोस्रो साता गएको अप्रत्याशित बाढी र पहिरोले बीमा क्षेत्रमा ठुलो दायित्व सृजना गरेको छ । यतिबेला सर्भेयरहरु सो दायित्वको निरीक्षणमा व्यस्त छन् होला, हैन ?

असोजकाे दोस्रो साता गएको अप्रत्याशित बाढी र पहिरोले बीमा क्षेत्रमा ठुलो दायित्व सृजना गर्यो । जुन, दुःखद हो । यसको सही आर्थिक मूल्यांकन गर्न सर्भेयरहरु सक्रिय भएको अवस्था छ । सर्भेयरहरुले समयमा नै नतिजा दिनुपर्ने अवस्था हुन्छ । प्रारम्भिक सर्भे सकेर रिपोर्ट बनाउनमा सबै व्यस्त हुनुहुन्छ ।

सर्भेयरहरुबाट निष्पक्ष मूल्यांकन हुन्छ भनेर कतिको विश्वास गर्न सकिन्छ ?
सर्भेयरहरुको पेशा नै निष्पक्ष र सही मूल्यांकन गर्ने पेशा हो । कुनै पनि सर्भेयर पक्षपाती बन्न हुँदैन र कुनै पक्षको कुरा सुन्नु हुँदैन। सर्भेयरहरुबाट निष्पक्ष मूल्यांकन नै हुन्छ ।

तपाईँ सर्भेयरहरुमाथि एउटा आरोप जोडतोडले लाग्ने गर्छ । तपाईँहरू बीमितको पक्षमाभन्दा बढी कम्पनीको पक्षमा देखिनुहुन्छ । किन ?
त्यस्तो होइन । सर्भेयरहरु भनेको निष्पक्ष निर्णायक जस्तै हुन् । सर्भेयरले बीमा कम्पनीले खटाए पनि बीमा कम्पनीहरूको मात्र पक्षमा नभएर बीचमा बसेर बीमा बीमा नीतिअनुसार काम गर्ने गर्छन् ।

अब, सर्भेयर शुल्कका बारेमा कुराकानी गरौँ । २०७२ सालको पहलपछि २०७३ सालमा सर्भे गर्दा लाग्ने शुल्क बढ्यो । त्यसयता बढेको छैन । किन बढ्न सकेन ?
सर्भे शुल्क प्रत्येक दुई वर्षमा बढाउनुपर्छ भन्ने व्यवस्था छ । बीमक संघसँगको छलफलमा यो व्यवस्था राखिएको हो । हामीले बारम्बार पहल गर्दा पनि सर्भेयरहरुको शुल्क बढ्न सकेको छैन । यतिबेला हामी बीमक संघ र प्राधिकरणमा पनि बारम्बार यस विषय जोडतोडका साथ उठाइरहेका छौँ । छिट्टै निर्णयमा पुगिन्छ र सर्भेयर शुल्क वृद्धिमा निर्णय हुन्छ भन्ने अपेक्षा हाम्रो छ ।

सर्भे शुल्क नबढ्दा कतिपय नेता सर्भेयरलाई नै फाइदा त हुँदैन नि ? किनकि, शुल्क बढ्नुको साटो अन्यत्रबाटै लाभ हुने सम्भावना कत्तिको हुन्छ ?
यसमा बीमा नियामकले नै सर्भेयरहरुको सूची बनाएर राखेको छ । त्यो सूचीमा राखिएका सर्भेयर दक्ष हुन् । बीमा कम्पनीहरूले पनि सूची बनाएको हुन्छ । यसमा भएकाहरूलाई काम दिने भनेर उनीहरूलाई जिम्मेवारी पनि दिइएको स्थिति छ । बीमा कम्पनीहरूको सूचीमा नभएका सर्भेयरलाई पनि काम दिनुपर्छ भनेर सर्भेयर संघले पत्र पनि पठाएको छ ।

सर्भे शुल्क नबढ्दा सर्भेयरलाई कस्तो असर पर्छ ?
सर्भे शुल्क नबढेको अवस्थामा सर्भेयरहरुलाई काम गर्न समस्या पर्ने गर्छ । पेशामा निरन्तरता दिन र हौसला पाउनका लागि काममा सन्तुष्ट भयो भने काम गर्न जागर हुने हो । त्यसैले धेरै सर्भेयरहरु आशावादी हुनुहुन्छ ।

सर्भेयर क्षेत्रमा युवाहरूको सहभागिता कस्तो छ ? अनि नयाँ पुस्तामा यो पेसाप्रति कत्तिको रुचि देखिन्छ ?
सर्भे पेशाा सबैलाई ‘फिट’ हुने पेशा होइन । दुई पक्षको बीचमा बसेर नतिजा निकाल्नु भनेको सजिलो पेशा होइन । एउटा न्यायाधीशको भूमिका पनि खेल्नु पनि पर्ने चेर्पासेको भूमिका पनि खेल्नुपर्ने हुन्छ । यस्तो खालको स्वभावको भएको व्यक्तिका लागि मात्र यो पेशा ठिक छ । युवाहरूको लागि यो पेशा ठिक हो । तर, आफूमा काम गर्न सक्ने विश्वास आवश्यक पर्छ । युवाहरूले नेपालमा केही गर्छु भन्ने छ भने यो कामलाई धैर्यता दिएर गरियो भने राम्रो पनि हो ।