काठमाडौं – माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को साधारण सभा आह्वान गरेको छ। कम्पनीले २०८१ पुस २८ गते आम्रपाली ब्यान्क्वेटमा साधारण सभा बोलाएको हो । कम्पनीको साधारण सभामा लाभांश र हकप्रद सहितका विविध प्रस्ताव पेस हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ रहेको छ। कम्पनीको साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
साथै, कम्पनीले १५ प्रतिशत बोनस शेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको छ। कम्पनीका अनुसार १५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउँछ ।
सो चुक्ता पुँजी १:०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीले गरेको हो । विद्युत् नियमन आयोगको सहमति लिई हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेस गर्ने निर्णय कम्पनीले गरेको छ। कम्पनीले ६५ मेगावाटको दूध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यससँगै पुस १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
यस्ता छन् कम्पनीको सभामा पेस हुने प्रस्तावहरु:
साधारण प्रस्तावहरुः
१. एघारौँ वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
२. यस कम्पनीको लेखा परीक्षकको प्रतिवेदन, सहित २०८१ आषाढ मसान्त सम्मको वासलात,२०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
३. कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस कम्पनीको आ.व. २०८१/८२ को लागि लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा । ( वर्तमान लेखा परीक्षक पुनः नियुक्तिको लागि योग्य हुनुहुन्छ )
४. सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश स्वीकृत गर्ने सम्बन्धमा ।
५. सञ्चालक समितिको निर्वाचन ( एक महिला ) गर्ने सम्बन्धमा ।
विशेष प्रस्तावहरू :
१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.ब. २०८०।८१ को लागि चुक्ता पुँजीको १५% का दरले हुने रु.३३,९४,८४,६५८।- (तेत्तिस करोड चौरान्नब्बे लाख चौरासी हजार छ सय अन्ठाउन्न रुपैयाँ) बोनस शेयर वितरण गर्न र सोमा लाग्ने कर प्रयोजनको निमित्त ०.७८९५ % अर्थात् रु.१,७८,६७,४१४ ।- (एक करोड अठहत्तर लाख सतसट्ठी हजार चार सय चौध रुपैयाँ ) नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धमा ।
२. कम्पनीको चुक्ता पुँजी रु.२,२६,३२,३१,०५० (दुई अर्ब छब्बिस करोड बत्तिस लाख एकतिस हजार पचास रूपैयाँ) मा प्रस्तावित बोनस वितरण पश्चात् कायम हुन आउने चुक्ता रु.२,६०,२७,१५,७०८ (दुई अर्ब साठी करोड सत्ताइस लाख पन्ध्र हजार सात सय आठ रूपैयाँ ) को १:०.५० अनुपातमा रु.१,३०,१३,५७,८५४ (एक अर्ब तिस करोड तेह्र लाख सन्ताउन्न हजार आठ सय चउन्न रूपैयाँ ) बराबरको १,३०,१३,५७८.५४ (एक करोड तिस लाख तेह्र हजार पाँच सय अठहत्तर दशमलव चउन्न कित्ता) हकप्रद शेयर जारी गर्ने सम्बन्धमा ।
३. कम्पनीको प्रबन्ध पत्रको दफा ६ (ख र ग) संशोधन गर्ने सम्बन्धमा ।
४. कम्पनीको नियमावलीको नियम २७ (२) संशोधन गर्ने सम्बन्धमा ।
५. सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा सामान्य संशोधन गर्न माग भए अनुरूप आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
प्रतिक्रिया