गलकोट – बागलुङ नगरपालिका– ७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक एक लाख ५० हजार रुपैयाँ बचत गर्दै आएका छन् । स्थानीय ओमराज शर्माले सञ्चालन गरेको कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ । बाह्र वर्ष कतार बसेर फर्किएका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताए ।
‘तीन हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक पाँच हजार अण्डा बजार बेच्ने गरेको छु,’ उद्यमी शर्माले भने । एक करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उनले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जीप र चार जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।
फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाएर मासिक एक लाख ५० हजार रुपैयाँ बचत हुने गरेको उद्यमी शर्माले बताए ।
अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिरबाट आउने अण्डाका कारण मूल्य भने अस्थिर हुने गरेको उनले बताए । किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उनले जोड दिए । कुखुरापालनभन्दा गाईबाख्रा पाल्न सहज हुने उनको अनुभव छ । त्यसैले अब उनी व्यावसायिक रूपमा गाई र बाख्रापालनको योजना कार्यान्वयनमा छन् ।
प्रतिक्रिया