२८ लाख जुटाएर खेलमैदान

२८ लाख जुटाएर खेलमैदान


म्याग्दी – अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट २८ लाख ४२ हजार सङ्कलन भएको छ । साथै पालिकाले उक्त रकमबाट तीन रोपनी जग्गा खरिद गरेको छ ।

खेलकुद गतिविधि सञ्चालन गर्न मैदान आवश्यक परेकाले जग्गा खरिद गरिएको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए। ‘समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको जग्गामा खेलमैदान बनाउन गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरेका छौं’, उनले भने।

खेलमैदान बनाउन घारखोला जलविद्युत् आयोजनाले १३ लाख ५० हजार, ५ लाख ५५ हजार चन्दा सङ्कलन, हाल जापानमा रहनुभएका घारका ददीवल खड्काबाट ५ लाख, घार कोटमन्दिरबाट १ लाख ६५ हजारका साथै अन्य दाताबाट रकम प्राप्त भएको उनले जानकारी दिए।