प्रधानमन्त्रीसमक्ष प्रमुख सूचनायुक्तको शपथ

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचनायुक्तको शपथ


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्  । प्रधानमन्त्री निवासमा आज बिहान भएको समारोहमा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराए । त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

 असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्दै सूचनाको हक उपयोग गर्दा त्यो न्यायोचित भए नभएको निर्क्योल्न गरी अराजकताले प्रश्रय पाउन नहुने बताए ।

समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङ, उक्त मन्त्रालयका सचिव राधिका अर्याललगायत उपस्थिति थिए । मन्त्रिपरिषद्को यही मंसिर ६ गतेको बैठकले उनीहरूलाई आयोगमा नियुक्त गरेको हो ।