बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै ५ वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो ।
बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
इच्छुक खरिदकर्तामध्ये प्रतिस्पर्धीले निष्काशित रकमको ८५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् दुई अर्ब २५ करोड बराबरको ऋणपत्र खरिद गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।
ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १५ गते हुने छ भने यसको ब्याज अर्धवार्षिक रुपमा हुने र ब्याजमा आयकर लाग्ने सूचनामा उल्लेख छ ।
खरिदकर्ताले घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउने छन् । दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुने ऋणपत्र खरिदको बोलकबोल मङ्गलबार हुनेछ । यस्तो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सकिने छ ।
२६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले २६ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले सोमबार ऋणपत्र बिक्री गर्न लागेको हो ।
केन्द्रीय बैंकले २८ दिन अवधिको दुई अर्ब, ९१ दिन अवधिको नौ अर्ब १० करोड, १८२ दिन अवधिको १० अर्ब र ३६४ दिन अवधिको पाँच अर्ब गरी कूल २६ अर्ब १० करोडको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो ।
बैंकले आइतबार जारी गरेको सूचनानुसार २८ दिने ट्रेजरी आगामी साउन १० गते, ९१ दिने ट्रेजरी आगामी असोज ११ गते, १८२ दिने ट्रेजरी आगामी पुस १२ गते र ३६४ दिने ट्रेजरी २०८० असार १२ मा परिपक्व हुनेछ ।
यसअघि यही असार ६ मा बैंकले २५ अर्ब ५३ करोडको ट्रेजरीबिल बिक्री गरेको थियो । यसको बोलकबोल अनलाइनमार्फत आजै हुने बैंकले जनाएको छ ।
बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।
तरलता अभाव कायमै, ट्रेजरी बिलको ब्याजदर उच्च
मुद्रा बजारमा देखिएको तरलता व्यवस्थापनमा चुनौती कायमै छ । एक वर्ष अगाडि तीन प्रतिशत आसपास रहेको ट्रेजरीको ब्याज हाल दोहोरो अङ्कमा पुगेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले २८ दिनको ट्रेजरी बिलको ब्याजदर ८.१७ प्रतिशत छ ।
यस्तै ९१ दिनको १०.४८ प्रतिशत, १८२ दिन अवधिको १०।५० प्रतिशत तथा ३६४ दिन अवधिको ट्रेजरीको १०.५२ प्रतिशत ब्याजदर रहेको छ । एक वर्ष अगाडि ३६४ दिने ट्रेजरीको व्याजदर ३.७२ प्रतिशत थियो ।
प्रतिक्रिया