एक महिनामा साढे ३७ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा, कुनले कति कमाए ?

एक महिनामा साढे ३७ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा, कुनले कति कमाए ?

'सबैभन्दा बढी कमाउनेमा नबिल'


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनामा हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले २२ अर्ब बढी खुद नाफा कमाएका छन् । योसँगै एक महिनामै बैंकहरुको नाफा साढे ३७ प्रतिशत वृद्धि भएको छ। नेपाल राष्ट्र बैंककाे तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म बैंकहरुले २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । यो नाफा गत आवको असोज मसान्तसम्मको तुलनामा ३७.७३ प्रतिशतले बढी हो। गत असोज मसान्तसम्ममा बैंकहरुकाे नाफा १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ थियो ।

राष्ट्र बैंककाअनुसार कात्तिक महिनामा मात्रै बैंकहरुले ६ अर्ब १० करोड ९२ लाख रुपैयाँ नाफा कमाएका छन् । केन्द्रीय बैंककाे तथ्यांकअनुसार कात्तिक मसान्तसम्म कृषि विकास बैंक बाहेक अन्य बैंककाे नाफा बढेकाे छ । समीक्षा अवधिमा कृषि विकास बैंकको नाफा २२ करोड ७७ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।

समीक्षा अवधिमा सबैभन्दा बढी नबिल बैंकले २ अर्ब ६९ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । यो असोजसम्मको तुलनामा भने ६.३४ प्रतिशत बढी हो । कात्तिकमा मात्रै नबिलले ६३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, ग्लोबल आएमई बैंकले चार महिनामा २ अर्ब ११ करोड ४० लाख रुपैयाँ कमाएको छ । कात्तिकमा मात्रै बैंकले ६० करोड १९ लाख रुपैयाँ नाफा कमाएको हो । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ११ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले कात्तिकमा मात्रै ३५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको हो ।

साे अवधिमा प्राइम बैंकले १ अर्ब ६२ करोड ६४ करोड रुपैयाँ, कुमारी बैंकले १ अर्ब ५९ करोड ४ लाख, एभरेष्ट बैंकले १ अर्ब ५० करोड ९३ लाख, एनएमबि बैंकले १ अर्ब ४८ करोड ३२ लाख, प्रभु बैंकले १ अर्ब २३ करोड १० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड ७३ लाख, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६ करोड ९४ लाख र नेपाल एसबीआई बैंकले १ अर्ब ७१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यसैगरी, समीक्षा अवधिमा नेपाल बैंकले ९३ करोड ८८ लाख रुपैयाँ, हिमालयन बैंकले ९१ करोड ८८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख रुपैयाँ, सानिमा बैंकले ६५ करोड १३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड २७ लाख रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेशनलले ४३ करोड ८६ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले ३८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएका छन् ।