काठमाडौं – नेपाल बीमा प्राधिकरणले नयाँ आउने बीमा कम्पनीहरुको लाइसेन्स शूल्क बढाउने तयारी गरेको छ। हाल बीमा कम्पनीहरुको लाइसेन्स शुल्क ५० हजार रुपियाँ मात्रै छ । हालसम्म स्थापना भएका बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरण साविक बीमा समिति०लाई सोहीअनुसार शुल्क तिरेर लाइसेन्स पाएका हुन् ।
अब बीमा कम्पनीले लाइसेन्स लिँदा प्राधिकरणलाई दुई हजार गुणासम्म बढि शुल्क तिराउने तयारी गरिएको छ । यस्तो लाइसेन्स शुल्क बढाएर ५० लाख रुपियाँदेखि १० करोड रुपियाँसम्म तिर्नुपर्ने प्रस्ताव गरिएको छ ।
त्यसभन्दा अघि पूर्वस्वीकृती लिँदा एक लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म छुट्टै शुल्क तिर्नुपर्ने प्रस्ताव पनि गरिएको छ । अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको बीमा नियमावली, २०८१ मा यस्तो प्रस्ताव गरिएको हो ।
प्रस्तावित नियमावलीमा कम्पनीको प्रकार अनुसार फरक फरक शुल्क तोकिएको छ । कम्पनीहरुले लाइसेन्सका लागि आवेदन पेश छुट्टै दस्तुर तिर्न नपर्ने प्रस्ताव गरिएको छ । प्रस्तावित नियमावलीअनुसार पूर्वस्वीकृति बापत लघुबीमा कम्पनीले एक लाख रुपियाँ, निर्जीवन बीमा कम्पनीले दुई लाख ५० हजार रुपियाँ, जीवन बीमा कम्पनीले पाँच लाख रुपियाँ र पुनर्बीमा कम्पनीले १० लाख रुपियाँ शुल्क तिर्नुपर्नेछ ।
अहिले प्रचलित बीमा नियमावली, २०४९ मा कुनै पनि प्रकारका बीमा कम्पनीले लाइसेन्सका लागि आवेदन दिँदा ५० हजार रुपियाँ दस्तुर बुझाए हुन्छ । त्यसपछि पूर्वस्वीकृत र लाइसेन्स अन्तिम स्वीकृतिका लागि थप दस्तुर तिर्नु पर्दैन । यद्यपि, नवीकरण गर्दा बार्षिक रुपमा ५० हजार रुपियाँ तिर्नुपर्छ ।
त्यसपछि अन्तिम स्वीकृती पाउँदा लघुबीमा कम्पनीले ५० लाख रुपियाँ, निर्जीवन बीमा कम्पनीले दुई करोड ५० लाख रुपियाँ, जीवन बीमा कम्पनीले पाँच करोड रुपियाँ र पुनर्बीमा कम्पनीले १० करोड रुपियाँ शुल्क बुझाउनुपर्ने भएको छ । साथै, इजाजत पत्र नविकरण गर्नुपर्ने व्यवस्था पनि हटाउने प्रस्ताव गरिएको छ ।
हालसम्म स्थापना भएका कम्पनीले ५० हजार रुपियाँमा मात्रै लाइसेन्स पाएका थिए । तर, यो नियमावली लागू भएपछि आउने कम्पनीले भने लाइसेन्सका लागि ठुलो रकम दिनुपर्ने व्यवस्था गरिएको छ । त्यो अवस्थामा अहिले सरकारले सस्तोमै लाइसेन्स बाड्ने तयारी पनि गरेको छ ।
प्रतिक्रिया