तनहुँमा बाढीले बालीमा एक करोड बढीको क्षति

तनहुँमा बाढीले बालीमा एक करोड बढीको क्षति



तनहुँ – गत असोजको बाढीबाट तनहुँमा एक करोडभन्दा बढीको बाली नष्ट भएको छ । एक करोड आठ लाख आठ हजार तीन सय ७० बराबरको क्षति भएको हो ।

आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको छ । छपन्न रोपनीमा लगाइएको हिउँदे मकै, धान, कोदो तथा दलहन र सागसब्जीमा ५० प्रतिशत क्षति हुँदा रु ८६ लाख ७० हजार पाँच सय ७० बराबरको नोक्सान भएको छ ।

त्यसैगरी बन्दीपुरमा साढे पाँच रोपनी धानबालीमा बाढी र पहिराले शतप्रतिश क्षति हुँदा रु १५ लाख ९१ हजार आठ सय र एक रोपनीमा लगाइएको कोदो पहिराले ५० प्रतिशत क्षति हुँदा रु ६० हजार नोक्सान भएको छ ।

देवघाट गाउँपालिकामा पाँच रोपनीमा धानबाली बाढीले शतप्रतिशत क्षति हुँदा रु दुई लाख ४० हजारको नोक्सान भएको छ ।

देवघाट गाउँपालिकाको वडा नं २, ३ र ५ मा करिब एक रोपनी क्षेत्रफलमा लगाइएको मकै, बोडी, मास, कोदो, काउली बाढीका कारण ९० प्रतिशत क्षति हुँदा रु ५० हजार र पहिराका कारण एक रोपनीमा लगाइएको बोडीको बीउ शतप्रतिशत क्षति हुँदा रु एक लाखबराबरको नोक्सान भएको छ ।