बेँसी झर्न थाले भेडाबाख्रा

बेँसी झर्न थाले भेडाबाख्रा


हुम्ला – हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि पालनपोषणका लागि यहाँका भेडाबाख्रा बेँसी झर्न थालेका छन् । विशेष गरी सिमकोट, खार्पुनाथ चङ्खेली र सर्केगाड गाउँपालिकाका व्यवसायी भेडाबाख्रासहित बेँसी झर्न थालेका हुन् ।

चिसो अत्यधिक बढेपछि भेडाबाख्रासहित हिउँदयाममा बेँसी झर्न थालेका भेडाबाख्रा व्यवसाय गर्दै आएका सिमकोट गाउँपालिका–२ ठेहेका राजेन्द्र बोहराले बताए । उनले भने, ‘जाडोले लेकमा बस्नै नसकिएपछि भेडाबाख्रा बेँसी झार्न थालेका र्छौँ।’ यतिबेला हुम्लाको उच्च पहाडी भेग सुख्खा हुने र तराईका क्षेत्रमा हरियाली हुनेहुँदा घाँसका लागि पनि भेडाबाख्रा हिउँदमा जिल्ला बाहिर लैजानुपर्ने बोहराको भनाइ छ । झण्डै ६ महिना जिल्ला बाहिर पालन गरेपछि वैशाखमा फेरी लेकमै भेडाबाख्रा लैजाने गरिन्छ ।

बाजुरा, अछाम, सुर्खेतलगायतका क्षेत्रमा हुम्लाबाट भेडाबाख्रा पालनका लागि लैजाने गरिन्छ । भेडाबाख्रा व्यवसायीले चामल, दाललगायत सामग्री बोकेर घरघरमा पुगेर व्यापरसमेत गर्छन् । गहुँ, जौ, उवाबाट बनाइएको सामग्री चामलसँग साट्ने चलन रहँदै आएको सिमकोट गाउँपालिका–२ ठेहेका टेक भण्डारीले बताए । सिमकोट–३ र ४ तथा उत्तरी नाम्खा गाउँपालिकामा एक दशक अघिसम्म प्रत्येकका घरघरमा भेडापालन गरिँदै आएको थियो । पछिल्लो समय यो व्यवसाय कमैले गरेको पाइन्छ ।

वर्षाको समयमा छिमेकी मुलुक चीनको ताक्लाकोट पुगेर यहाँको फापर, उवा, गहुँ, जौलगायतको अन्न नूनसँग साट्ने गरिन्थ्यो । ताक्लाकोटबाट नून ल्याएर हुम्लाकै दक्षिणी भेगका रोडिकोट, दार्मा सर्केगाड, पिप्लाङ, उनापानी, रिप राहदेवलगायतका गाउँमा पुगेर चामल, सिमिलगायतका अन्नसँग साँटासाँट गरिन्थ्यो । तर, अहिले यी सबै चलन हराउँदै गएका छन् ।