सुस्ताउँदै कृषि बीमाः चार लघुबीमा कम्पनीले बढाउलान् योगदान ?

सुस्ताउँदै कृषि बीमाः चार लघुबीमा कम्पनीले बढाउलान् योगदान ?

नमुना के. सी.
70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अब लघुबीमा कम्पनीहरूले पनि कृषि बीमा गर्न पाउने भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको ‘बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१’ बमोजिम लघु बीमा कम्पनीले पनि कृषि बीमा व्यवसाय गर्न पाउने भएका हुन् ।

प्राधिकरणकाअनुसार लघु बीमा कम्पनीले ५० लाख रुपैयाँसम्मको कृषि बीमा पोलिसि बिक्री गर्न पाउने छन् । कृषि तथा पशुपंक्षी बीमा प्रिमियम अनुदान उपलब्ध गराउने कार्यविधिअनुसार एक करोडभन्दा धेरै बीमांक रकमको बीमा गर्नेले बीमा शुल्कको ५० प्रतिशत अनुदान पाउनेछन् । ५० देखि १ करोड रुपैयाँसम्मको बीमांक रकम भए ६५ प्रतिशत अनुदान पाउनेछन् भने ५० लाख रुपैयाँभन्दा कम रकमको बीमा गर्दा किसानले ८० प्रतिशत अनुदान पाउनेछन् ।

हाल नेपालमा ७ वटा लघु बीमा कम्पनीहरू सञ्चालनमा छन् । जसमध्ये ४ वटा निर्जीवन कम्पनी छन् । उक्त ४ वटा निर्जीवन बीमा कम्पनीले कृषि बीमा गर्न पाउने भएका हुन् । कात्तिकको पहिलो साता ४ वटा लघु निर्जीवन कम्पनी र प्राधिकरणबीच कृषि बीमाबारे छलफल भएको थियो । छलफलमा उनीहरूलाई पूर्वाधार तयार गरेर आउन सुझाव दिएको प्राधिकरणका निर्देशक शुसीलदेव सुवेदीले बताएका छन् । छलफलमा पहिला पूर्वाधार खडा गर्न र पूर्वाधार तयार भएपछि पोलिसी बिक्रीका लागि अनुमति दिने प्राधिकरणको तयारी रहेको उनले बताए ।

कृषि तथा पशुपंक्षीको बीमा गर्न कम्पनीहरूले अभिकर्ता बनाउनु पर्ने, पोलिसी जेनेरेट गर्न सफ्टवेर प्रणाली विकास गर्नुपर्ने, कृषि बीमाको पोलिसी छपाई, पोलिसीको अध्ययन कृषि तथा पशुपंक्षी अध्ययन गरेको कर्मचारी राख्ने सोहीअनुसार तालिम दिनुपर्ने काम पहिला कम्पनीहरूले गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए ।

‘यो व्यवस्थाले लघुबीमाको व्यवसायलाई पनि सहयोग पुग्छ। र, कृषि बीमामा पनि कृषकको सहभागिता बढ्ने आशा रहेको छ,’ उनले भने । ‘प्रडक्ट थपिनु प्रोत्साहन हो’

हाल लघुबीमा कम्पनीले पनि कृषि बीमा गर्न पाउने

व्यवस्थाले अब कृषि क्षेत्रमा सुधार देखिएला भन्ने प्रश्नमा लघुबीमक सधंको अध्यक्ष चिरायु भण्डारीले लघुबीमालाई प्रडक्ट दिएकोमा धन्यवाद दिएका छन् । ‘लघुबीमा कम्पनीलाई प्रोडक्ट दिएको छ । कृषि क्षेत्रमा असिमित सम्भावना छ । लघुबीमा कम्पनीले पनि कृषि बीमा गर्न पाउने व्यवस्थाले केही हद सम्म सुधार आउने छ,’ उनले भने । सरकार र बीमा प्राधिकरणको यो निर्णयले लघुबीमा कम्पनीलाई प्रोत्साहन दिएको भन्ने बुझिएको उनको भनाइ छ ।

धेरै समयसम्म प्रडक्ट दिन आनाकानि गरेको प्राधिकरणले विस्तारै लघुबीमा कम्पनीलाई पनि सहज हुने किसिमको व्यवस्था गरिरहेको छ । यसले लघुबीमा कम्पनीले पनि बीमा क्षेत्रमा सुधारात्मक काम गर्नको लागि थप प्रोत्साहन हुन्छ । सञ्चालनमा रहेका बीमा कम्पनीले लघुबीमा व्यवसाय अपेक्षाअनुसार गर्न नसकेको भन्दै बीमा प्राधिकरणले नयाँ लघुबीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनीलाई अनुमतिपत्र लाइसेन्स दिएको थियो । तल्लो तहमा पुगेर गरिब किसानलाई बीमा पहुँच पुर्याउने भन्दै प्राधिकरणले नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको हो ।

नेपालमा लघु बीमा कार्यक्रम अघि बढाएको एक दशक पुगिसकेको छ । २०७१ मा नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) ले लघुबीमा निर्देशिका जारी गरी कम्पनीलाई लघु बीमा ‘बीमालेख’ बिक्री गर्न निर्देशन दिएको थियो । त्यसपछि २०७३ र ७४ मा बीमा कम्पनीलाई कुल व्यवसायको ५ प्रतिशत लघु बीमा गर्न भनेको थियो । त्यसपछि लघबीमा कम्पनी नै खडा गरेर लघु बीमा कार्यक्रम अघि सारिएको हो । बीमा प्राधिकरणले लघुबीमा कारोबार गर्न भन्दै जीवन बीमा व्यवसायका लागि तीन र निर्जीवन बीमा व्यवसायका लागि चार कम्पनीलाई २०७९ मंसिरमा अनुमति दियो ।


लघुबीमामा कस्तो छ अन्तर्राष्ट्रिय अभ्यास ?
आजभन्दा २४ वर्ष अघिदेखि विश्वमा लघुबीमा प्रचलनमा आएको हो । भारत, फिलिपिन्स, बंगलादेश, कम्बोडिया, भियतनाममा लघुबीमाको प्रभावकारिता राम्रो छ । भारतमा लघुबीमा व्यवसायका लागि छुट्टै कम्पनी समेत छन् । भारतमा लघुबीमा कम्पनीले स्वास्थ्य बीमा र कृषिलाई प्राथमिक्तामा राखेका छन् । अफ्रिकी देशमा समेत लघुबीमा फस्टाएका छन् ।

त्यसैगरी, गरिबी उच्च भएका मुलुकमा लघुबिमाको प्रभावकारिता राम्रो देखिन्छ । विश्वभरि लघुबिमा कम्पनीले स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिइरहेको अवस्था नेपालमा पनि तल्लो तहमा पुगेर गरिब विपन्न वर्गले उत्पादन गरेका वस्तुको बीमा गर्ने उद्देश्यले नयाँ बीमा कम्पनी ल्याइएकाे हाे ।