निर्जीवन बीमा कम्पनीमा देखियाे विपत्तिको प्रभाव, ८६ प्रतिशतले घट्यो नाफा

निर्जीवन बीमा कम्पनीमा देखियाे विपत्तिको प्रभाव, ८६ प्रतिशतले घट्यो नाफा

पौने १२ अर्बको दाबी, ५ प्रतिशत मात्रै भुक्तानी


काठमाडौं – असोज दोस्रो साता आएको बाढीपहिरोले पुर्याएको क्षतीका कारण बीमा कम्पनीहरुको नाफा नै प्रभावित बनेको छ। असोजको दोस्रो साता आएको अकल्पनिय वर्षाका कारण आएको बाढी र पहिरोबाट अर्बौ रुपैयाँको क्षती भएको थियो । सो क्षतीको प्रत्यक्ष प्रभाव बीमा कम्पनीहरुमा पर्यो । जसकारण, बीमा कम्पनीहरुको समग्र नाफा नै प्रभावित बनेको हो ।

बाढी र पहिरोका कारण भएको क्षतीबापत निर्जीवन बीमा कम्पनीहरुमाथि ११ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेपछि यसको प्रत्यक्ष प्रभाव नाफामा देखिएको छ । कम्पनीहरुको पहिलो त्रैमासको प्रतिवेदनअनुसार सबैजसो कम्पनीहरुको नाफामा गिरावट आएको छ ।

देशका १४ निर्जीवन बीमा कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार उनीहरूको कुल नाफा यो वर्ष ८६ प्रतिशतले घटेको छ । अर्थात गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ८६ प्रतिशतले नाफा खुम्चिएको हो । यो १ अर्ब २ करोड ४९ लाख रुपैयाँ हुन आउँछ । कम्पनीहरुले गत आर्थिक वर्षको असोजमा १ अर्ब १९ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । जुन, चालू वर्षको पहिलो त्रैमासमा १६ करोड ६५ लाख रुपैयाँमा झरेको हो ।

कुन कम्पनीको कति व्यवसाय ?
यस अवधिमा केही निर्जीवन बीमा कम्पनीको मात्रै नाफा बढेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै नाफा सानिमा जिआईसी इन्स्योरेन्सको बढेको छ । सानिमा जिआईसी इन्स्योरेन्सको नाफा ५०.५९ प्रतिशत बढेर ५ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । हिमालयन एभरेष्ट इन्स्योरेन्सको २३.७२ प्रतिशतले बढेर ६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ नाफा गरेको थियो ।

आईजीआई प्रडेन्सियलको नाफा १९.५० प्रतिशत बढेर ६ करोड १० लाख रुपैयाँ गरेको हो । गत असोजसम्म राष्ट्रिय बीमा कम्पनीको १३.७३ प्रतिशत बढेर १५ करोड ७६ लाख रुपैयाँ , प्रभु इन्स्योरेन्सको १०.५४ प्रतिशत बढेर ५ करोड ६० लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको २.५० प्रतिशत बढेर ११ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा राष्ट्रिय बीमाले १३ करोड ७६ लाख रुपैयाँ, प्रभुले ५ करोड ६ लाख रुपैयाँ र शिखरले ११ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

समीक्षा अवधिमा विभिन्न ४ कम्पनीको नाफा घटेको छ भने ४ कम्पनीले नोक्सानी बेहोरेका छन् । एनएलजी इन्स्योरेन्सको नाफा ४.९६ प्रतिशत घटेर ४ करोड ८९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको १९.९६ प्रतिशत घटेर ७ करोड ४ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५४.३० प्रतिशत घटेर ६ करोड ४० लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको ९२.८८ प्रतिशत घटेर १ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स, ओरिएन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सले खुद नोक्सानी बेहोरेका छन् । ओरिएण्टल इन्स्योरेन्सले २४ करोड ५१ लाख रुपैयाँ घाटा बेहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको असोजमा २१ करोड ६० लाख रुपैयाँ नाफा गरेको नेशनल इन्स्योरेन्सले १८ करोड ३ लाख घाटामा बेहोरेको छ । यस्तै, गरमाथा लुम्बिनी इन्स्योरेन्सले ८ करोड ९५ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ ।

गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो । यूनाइटेड अजोड इन्स्योरेन्स १ करोड ८१ लाख रुपैयाँ घाटामा छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ८६ लाख रुपैयाँ नाफा गरेको थियो । बीमा प्राधिकरणका निर्देशक कम्पनीहरुमा प्राकृतिक विपत्तीको असर देखिएको बताउँछन् । बैंकिङ्ग समाचारसँगको कुराकानीमा भन्छन्, ‘बीमा क्षेत्रमा बाढी पहिरोको कारण पनि प्रभाव परिरहेको छ । बीमा कम्पनीहरुलाई दावी समयमा दिनको लागि निर्देशन दिईसकेका छौं ।’

बाढीपहिरो : पौने १२ अर्बको दाबी, ५ प्रतिशत मात्रै भुक्तानी
निर्जीवन बीमकहरुमा बाढीपहिरोबाट भएको क्षतिको हालसम्म पौन १२ अर्ब रुपैयाँको दाबी परेको छ । असोज दोस्रो साताको अविरल वर्षपछि देशका विभिन्न स्थानमा सिर्जित बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो । नेपाल बीमा प्राधिकरणका निर्देशक शुसील देव सुवेदीका अनुसार कात्तिक २८ गतेसम्म प्राप्त तथ्यांकका आधारमा निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा ३ हजार ४१८ वटा दाबी परेको छ ।

ती दाबीको कम्पनीहरुले ११ अर्ब ८२ करोड ६ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हो । हालसम्म बीमकहरुले ९०२ वटा दाबीको ६१ करोड ७ लाख ९३ हजार रुपैयाँ भुक्तानी गरेका छन्। कम्पनीहरुले कुल दाबी गरेको ५.१७ प्रतिशतभन्दा भुक्तानी गरेको तथ्यांकबाट देखिन्छ ।