स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्रीसँग आग्रह

स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्रीसँग आग्रह


जुम्ला- यहाँका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री यामलाल कँडेलसँग आग्रह गरेका छन् । कृषि विकास कार्यालयले शनिबार किसानसँग आयोजना गरेको छलफलमा उनीहरूले जुम्ला स्याउले बजार नपाएको गुनासो गर्दै सहयोगका लागि अनुरोध गरेका हुन् ।

स्याउको मूल्य निर्धारणका साथै बजार खोजिदिन प्रदेश सरकारलाई यहाँका किसानले माग गरेका चन्दननाथ नगरपालिका–४ किसान नारायण चौलागाईँले बताए । किसानसँग मुख्यमन्त्री कार्यक्रम लागू भए पनि स्याउको मूल्यमा एकरुपता कायम नभएको उनको गुनासो छ ।

उक्त विषयलाई पनि सम्बोध गर्न किसानले माग गरेका थिए । प्रदेश सरकारले स्याउको बजार सुनिश्चित गर्न कर्णाली राजमार्गमात्र कालोपत्र हुनुपर्ने तथा स्याउमा सरकारले दिने अनुदान रोक्नुपर्ने चन्दननाथ नगरपालिका–२ का किसान रत्नबहादुर भण्डारीले बताए । वास्तविक किसानले अनुदान नपाएका उनको आरोप छ ।

मुख्यमन्त्री कँडेलसमक्ष किसानले माटो परीक्षण प्रयोगशाला स्थापना, सैद्धान्तिक ज्ञानमात्र आर्जन गरेका कृषि प्राविधिकलाई व्यावहारिक ज्ञान दिनुपर्ने र शीतभण्डारको व्यवस्था हुनुपर्ने माग गरेका थिए । जुम्लामा चार हजार चार सय ७५ हेक्टरमा स्याउखेती हुने गरेको छ । चालु आवमा ६१ करोड ४१ लाख रूपैयाँकाे स्याउ बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ ।