काठमाडौं – चिनियाँ कार निर्माता नेटा भीको उत्पादन बन्द भएको छ । नेपालमा चौधरी समूह अन्तगर्तको सीजी मोटर्सले बिक्री वितरण गर्दै आइरहेको नेटा भीको उत्पादन बन्द भएको हो । मार्च अन्तिम सातातर्फ नै कम्पनीमा समस्या आएपनि उत्पादन पूर्णरुपमा बन्द भने नोभेम्बरमा गरिएको बताइएको छ ।
जबकी, मार्चमा नै गाडी उत्पादक नेटाको प्यारेन्ट्स कम्पनीमा समस्या आएपनि नेपालमा खुलमखुला व्यापार भइरहेको थियो । नियामकीय निकायले समेत यसमा ध्यान पुर्याएको थिएन । जसकारण, मार्चयता नेटा किन्नेहरुलाई गुमराहमा राखेर बिक्रीवितरण भएको पाइएको छ ।
समाचार संस्था कार न्यूज चाइनाकाअनुसार नेटा भीले उत्पादन बन्द गर्नुका साथै कर्मचारीको तलब नै कटौती गरेको छ । यो सन् २०१८ मा स्थापना भएको चिनियाँ विद्युतीय सवारी ब्राण्ड हो । जसले छोटो समयमा नै विश्वव्यापीरुपमा आफ्नो व्यापार विस्तार गरेको थियो ।
नेटा ब्राण्ड होजोन अटोले उत्पादन गर्ने सर्वसुलभ विद्युतीय सवारीको भविष्य नै समस्यामा परेको छ । सस्तो मूल्यमा विद्युतीय सवारी उत्पादन गर्ने होजोनको नीतिका कारण छोटो समयमा नै यो विश्वव्यापी कम्पनी बनेको थियो । यसले सन् २०२२ मा लि अटो, नियो र एक्सपेङलाई नै पछाडी छाडेको थियो ।
नेटालाई नेपालमा चौधरी समूहले बिक्रीवितरण गर्दै आइरहेको थियो । यो ब्राण्डको सवारी सयौं सर्वसाधारणले किनेका थिए । तर, चिनमा उत्पादन नै बन्द भएपछि खरिदकर्ताहरुलाई चाहिने ‘स्पेयर्स पाट्र्स’को उपलब्धतामा समेत समस्या आउन सक्छ ।
प्रतिक्रिया