‘बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि’

‘बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि’


काठमाडाैं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन्। नेपालमा उत्पादित विद्युत् आजदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा बोेल्दै उनले भने, ‘दक्षिण एसियामा दिगो ऊर्जा भविष्यका लागि आजको दिन ऐतिहासिक हो।’
 
उनले नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपीसी विद्युत् व्यापार निगम लिमिटेडबीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौतामा भएको हस्ताक्षरले यस उपलब्धिको लागि मार्ग प्रशस्त गरेको उल्लेख गरे।

बङ्गलादेशमा विद्युत् निर्यातमा सहजीकरण गर्ने भारत सरकार र विद्युत् आयत गर्ने बङ्गलादेश सरकारलाई उनले धन्यवाद दिए। उक्त निर्यातले ऊर्जा सुरक्षा, आर्थिक वृद्धि र वातावरणीय दिगोपनलाई सहयोग पुगको उनको भनाइ थियो। 

ऊर्जामन्त्री खड्काले सम्झौता र निर्यातले दुई देशबीचको आर्थिक विकासलाई सहयोग पुग्नुका साथै एकताबद्ध हुन सहयोग पुग्ने बताए। नेपाल–भारत र बङ्गलादेशबीच गत असोज १७ (अक्टोबर ३)का दिन त्रिपक्षीय सम्झौता भइ भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यातको अनुमति दिएको थियो। 

आजदेखि ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात सुरु गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिर खानले भर्चुअल माध्यमबाट बङ्गलादेश विद्युत् निर्यातको स्वीच अन गरेर औपचारिक शुभारम्भ गरेका हुन्।

 कार्यक्रममा भारतका विद्युतमन्त्री खट्टरले भारतको प्रसारण लाईन प्रयोग गरेर दक्षिण एशियाली मुलुकमा विद्युत् विस्तार गर्ने काम सराहनीय भएको बताए।  बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार खानले क्षेत्रीय ऊर्जा समन्वयका लागि यस्ता सम्झौताले ठूलो सहयोग पुगेको बताए।