हिमालयन क्यापिटलको लाभांश पारित

हिमालयन क्यापिटलको लाभांश पारित


काठमाडाैं – हिमालयन क्यापिटल लिमिटेडले सातौँ वार्षिक साधारणबाट ७ प्रतिशत नगद लाभांश पारित गरेको छ । बुधबार सम्पन्न सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । 

त्यस्तै, सभाले गत आव ०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, ०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ । साथै, साधारणसभामा संस्थाका सञ्चालकहरूको पुनर्नियुक्तिसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिएको क्यापिटलले जनाएको छ । 

कार्यक्रममा आर्थिक वर्ष ०८०/८१ का उपलब्धिको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनीलप्रसाद गोर्खालीले संस्थाका भावी योजनाबारे प्रकाश पारे । त्यस्तै, संस्थाका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्ना सबै ग्राहकलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

हिमालयन बैंकको सहायक कम्पनी क्यापिटलले मर्चेन्ट बैंकिङ्ग सेवाअन्तर्गत निक्षेप सदस्य, सेयर रजिस्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवा ग्राहकलाई प्रदान गर्दै आइरहेको छ ।