काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन अजरबैजान प्रस्थान गरेका छन्। राष्ट्रपति पौडेल आइतबार साँझ अजरबैजानको बाकु सहरमा हुने कोप–२९ मा भाग लिन त्यसतर्फ प्रस्थान गरेका हुन्। अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै अजरबैजान गएका हुन्।
त्यसअघि राष्ट्रपति पौडेललाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्रीलगाएतले बिदाई गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।
राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरु जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ।
राष्ट्रपतिकाे भ्रमण टोलीमा उहाँकी धर्मपत्नी सावित्रा पौडेल, राष्ट्रपतिका जल तथा वातावरणविज्ञ डा परमेश्वर पोखरेल, मुख्य निजी सचिव अवज्ञा पौडेल, सञ्चारविज्ञ किरणकुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव नाराणप्रसाद शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्कर, राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईलगायत सहभागी छन् ।
प्रतिक्रिया