मानव तस्करी मुद्दामा मुछिएका सांसद अधिकारी पक्राउ

मानव तस्करी मुद्दामा मुछिएका सांसद अधिकारी पक्राउ


काठमाडौं – मानव तस्करको आरोप लागेका कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । अधिकारी आज (आइतबार) अदालतबाट अनुमति लिएर पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएको हो ।

उनलाई आजै दिउँसो एक बजे विराटनगरबाट हवाईजहाजमार्फत् काठमाडौं ल्याइँदैछ । कोशी प्रदेश सरकारको तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका अधिकारी वैदेशिक भ्रमणका मापदण्ड पूरा नगरी जापान पुगेकोमा त्यहाँको अध्यागमन कार्यालयले शंकास्पद कागजात रहेको भन्दै फिर्ता पठाएपछि उनीमाथि प्रश्न उठेको छ ।

नैतिक प्रश्न उठेपछि अधिकारीले मन्त्रीबाट राजीनामा दिइसकेका छन् । उनलाई शनिबार नै एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । मोरङ २ (२) बाट निर्वाचित एमाले सांसद अधिकारी कानुन व्यवसायीसमेत हुन् । अघिल्लो प्रदेशसभामा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।