काठमाडौं – अस्वस्थ प्रतिस्पर्धा, प्रलोभन वा जबर्जस्ती बिक्री लगायतका कारणले बीमा पोलिसि सरेण्डर गर्नेहरुको संख्या बढ्दै जान थालेको छ । केही वर्षयता निरन्तर बढेको बीमा पोलिसि सरेण्डर चालू आर्थिक वर्षको पहिलो त्रैमासमा झनै बढेको छ ।
बीमा प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१/८२ को ३ महिनाको अवधिमा सरेन्डर ह्वात्तै बढेको हो ।प्राधिकरणाकाे तथ्यांकअनुसार समिक्षा अवधिमा साढे ३ अर्ब रुपैयाँभन्दा बढीको पोलिसी सरेण्डर भएको छ । यस अवधिमा २८ हजार जना बीमितको ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर भएको हो ।
बीमा पोलिसी सरेण्डर हुनु समग्र बीमा क्षेत्रकै लागि नकारात्मक सूचक हो। तरपनि बीमा कम्पनीहरु बढ्दो अवस्थामा रहेको सरेण्डरलाई न्यूनीकरण गर्नमाभन्दा पनि व्यापार वृद्धिमा मात्रै केन्द्रीत देखिन्छन् । बीमा कम्पनीहरुको नीति हेर्दा बीमाको पहुँच बढाउन र यस क्षेत्रको नकरात्मक पक्ष घटाउनमा जोड दिनुपर्ने हो ।
३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको बीमा पोलिसि सरेण्डर भएकै अवधिमा कम्पनीहरुको व्यापार भने ४१ अर्ब रुपैयाँभन्दा माथि थियो । बीमा कम्पनीहरुले समग्रमा ४१ अर्ब रुपैयाँभन्दा बढीको बीमा शुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ । यसले बीमा कम्पनीहरुले व्यापारमा मात्र केन्द्रित हुँदा नकारात्मक पक्ष रोकथाममा ध्यान दिएका छैनन् भन्न सकिन्छ ।
किन बढ्दैछ सरेण्डर ?
बीमा अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितलाई राम्रोसँग बुझाउन नसक्दा पोलिसी सरेण्डरको मात्रा बढेको अनुमान गर्न सकिने बीमा प्राधिकरणको निर्देशक शुसीलदेव सुवेदी बताउँछन् । यस्तो दर रोक्नका लागि पहल भइरहेको उनको भनाइ छ । बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनी भन्छन्, ‘बीमा बजारमा व्यवसाय बढेसँगै केही हदसम्म पोलिसी सरेण्डर हुनु स्वभाविक हो । तर, कति सम्म पोलिसी सरेण्डर गर्ने भन्नेमा प्रष्ट हुनुपर्छ ।’
पोलिसी सरेण्डर गर्दा बीमितका साथै बीमा कम्पनीलाई समेत घाटा पर्ने हुदाँ सरेण्डर केसलाइ घटाउन सबै निकायले जोड दिन आवश्यक रहेको बताउँछन्। ‘बीमालेख सरेण्डर गर्ने प्रवृत्ति नेपालमा मात्रै नभई संसारभरी नै छ,’ सुवेदी थप्छन्, ‘बीमालेख खरिद गर्नुपूर्व नै आफ्नो आय, आम्दानीलाई मध्यनजर गरेर आफूलाई सुहाँउदो बीमा पोलिसी खरिद गर्नुपर्छ ।’ बीमा गर्नुपूर्व नै आर्थिक स्थितिलाई असर नपर्ने गरी सो रकमले उक्त बीमालेखलाई निरन्तरता दिनसक्ने गरी बीमालेख खरिद गर्यो भने सरेण्डरको मात्रा कम हुने उनको बुझाइ छ ।
सबैभन्दा बढी सरेण्डर कसको ?
एलआईसी नेपालको सरेण्डर सर्वाधिक देखिएको छ । एलआईसी नेपालको ७७ सय ३१ वटा पोलिसी बराबर १ अर्ब २२ करोड ९६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । नेपाल लाईफको ६ हजार ५४६ वटा बीमा पोलिसी वापत १ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको २७ सय ४२ वटा बीमा पोलिसी बापत २७ करोड ४३ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । एशियन लाईफको २२ सय ७२ वटा बीमा पोलिसी बापत २४ करोड ८४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ ।
नेशनल लाईफको १५ सय ५४ वटा पोलिसी वापत २३ करोड ६२ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । सूर्यज्योति लाईफको १५ सय ७४ वटा पोलिसी वापत १९ करोड ३३ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । हिमालयन लाईफको २ हजार १४ वटा बीमा पोलिसी वापत १८ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । मेट लाईफको ९ सय ९५ वटा बीमा पोलिसीबापत १० करोड ६३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ ।
यता, सानिमा रिलायन्स लाईफको ५३७ वटा पोलिसी वापत ७ करोड ७८ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ आइएमई लाईफको ४७० वटा बीमा पोलिसी वापत ५ करोड ११ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ । प्रभु महालक्ष्मी लाईफको ४ करोड ६९ लाख रुपैयाँको, सिटिजन लाईफको ५८८ वटा बीमा पोलिसी बापत ४ करोड ४९ लाख रुपैयाँको र रिलायबल नेपाल लाईफको ४८७ वटा बीमा पोलिसीबापत २ करोड ९८ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ । यस्तै, सन नेपाल लाईफको १९३ वटा बीमा पोलिसीबापत १ करोड ७७ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ ।
तीन वर्ष पूरा भएपछि बीमालेख सरेण्डर पाइने व्यवस्था
ऐनमा बीमितले बीमालेख खरिद गरेको मितिले ३ वर्ष पूरा भएपछि बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ । बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग गर्न पाउने व्यवस्थालाई परिमार्जन गर्दै समितिले सरेण्डरमा नयाँ नियम लागू गरेको छ। समितिले ‘जीवन बीमालेख सम्बन्धि निर्देशिका, २०७८’ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था कामय गरेको हो ।
समितिले कायम गरेको नयाँ व्यवस्था बमोजिम बीमितले ३ वर्षसम्म पोलिसी समर्पण गर्न नपाउने व्यवस्था छ । समितिले बीमा कम्पनीहरुमा एकल बीमालेखमा देखिएका वेतिथि रोक्नका लागि भन्दै यस्तो व्यवस्था कायम गरेको थियो । बीमा समितिद्वारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिकामा बीमालेख समर्पण सम्बन्धी व्यवस्था गरिएको छ । बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपछि बीमालेख समर्पण गर्नसक्ने व्यवस्था छ ।
प्रतिक्रिया