ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४ः बैंकबाट प्रवाह हुने कर्जाबाट बन्ने संरचना वातावरणमैत्री बनाउने लक्ष्य

ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४ः बैंकबाट प्रवाह हुने कर्जाबाट बन्ने संरचना वातावरणमैत्री बनाउने लक्ष्य


काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी दिनमा निर्माण हुने भौतिक संरचनाका लागि बैंकबाट प्रवाह हुने कर्जा प्रवाह वातावरणमैत्री बनाउने लक्ष्य अघि बढाएको छ । ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४’ जारी गर्दै राष्ट्र बैंकले बैंकहरुबाट जारी हुने कर्जाबाट बन्ने भौतिक संरचनाले वातावरणमा क्षती नपुर्याउने लक्ष्य बलियोरुपमा अघि सारेको हो ।

केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति पालना गर्दै बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह एवं लगानीलाई वातावरणमैत्री बनाउन ‘नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी’ जारी गरेको हो । गभर्नर महाप्रसाद अधिकारीले निजी र सार्वजनिक वित्तको जलवायु परिवर्तनको चुनौतीमा महत्तवपूर्ण भूमिकाकाकारण समर्पित हरित वित्तको वर्गीकरणको स्वीकृति अत्यावश्यक रहेको बताउँछन् । बैंक, लगानीकर्ता र नियामकहरूलाई हरित वित्तको वर्गीकरणलाई आफ्नो लगानी निर्णयमा समाहित गर्नका लागि सचेतता र क्षमता आवश्यक रहेको गभर्नरको भनाई छ ।

गभर्नरले यस मार्गनिर्देशले वातावरणीय र सामाजिक जोखिमलाई घटाउने, हरित मापदण्डसँग मिल्ने लगानीहरूको खोजी गर्ने पूँजीलाई आकर्षित गर्ने र वातावरणीय दिगो लगानी र परियोजनाहरूलाई प्रवद्र्धन गर्ने वित्तीय उत्पादन र सेवाहरूको सिर्जनामा सहयोग गर्ने उद्देश्य राखेको पनि उल्लेख गरेका छन् । नेपाल राष्ट्र बैंकले विभिन्न अन्तर्राष्ट्रिय प्रतिबद्धतामा आधारित अनुकूलन, न्यूनीकरण र दिगो विकास लक्ष्यहरू लागू गर्न लगभग ७७ अर्ब अमेरिकी डलरको आवश्यकता पर्ने पनि सो ट्याक्सोनोमीमा उल्लेख गरेको छ ।

राष्ट्र बैंकले बैंक र वित्तीय संस्था, पूँजी बजार र बीमा कम्पनीहरूले हरित र दिगो वित्तपोषणमा रूपान्तरण गर्नका लागि विभिन्न पहलहरू गर्दै आएको पनि बताएको छ । केन्द्रीय बैंकले बैंक र वित्तीय संस्थाहरूको ऋण १८ क्षेत्रहरूमा वर्गीकृत गरिएको र राष्ट्र बैंकले कृषि, ऊर्जा, पर्यटन, साना र मझौला उद्योगको लागि ऋणलाई प्राथमिकता दिएको छ बताएको छ । यति हुँदा पनि ‘हरित’ क्षेत्रहरूमा ऋणको प्रणालीगत विभाजन, लगानीको ट्र्याकिङ्ग र अनुगमन छैन ।

केन्द्रीय बैंककका अनुसार वित्तीय प्रणालीलाई हरित बनाउने कामले वातावरणीयरूपमा मित्रवत उद्योगहरूमा बढी निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्नेछ । नेपालले हरित भविष्य र जलवायु क्रियाकलापका लागि बढाएका आकांक्षाहरू पूरा गर्नका लागि आवश्यक वित्तीय आवश्यकताहरूलाई पूरा गर्नेछ । हरित वित्त वर्गीकरणले नेपालका नियामक र वित्तीय क्षेत्रका अभिनेता सबैलाई मार्गदर्शन गर्ने अपेक्षा केन्द्रीय बैंकले गरेको छ ।

हरित वित्त वर्गीकरणको मार्गनिर्देशले नियामकहरू, वित्तीय क्षेत्रका सरोकारवालाहरू र बजार सहभागीहरूलाई नेपालमा आफ्ना आर्थिक गतिविधिहरूमार्फत स्रोतहरूलाई हरित वित्तमा लगानीमा रूपान्तरण गर्नको लागि दृष्टिकोण प्रदान गर्ने केन्द्रीय बैंकले जनाएको छ । हरित वित्त वर्गीकरणका प्रयोगकर्तामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरण जस्ता नियामक निकायहरूको मार्गदर्शनमा काम गरिरहेका बैंकहरू, वित्तीय संस्थानहरू लघुवित्त संस्थाहरु, नेपाल पूर्वाधार बैंक जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा र माइक्रो बीमा साथै पूँजी बजारका व्यापारी रहनेछन् ।

नेपाल राष्ट्र बैंकको बैंक र वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेल जलवायु परिवर्तनको असरहरु देखिएको भन्दै त्यसको न्युनिकरण गर्न संसार भर भएको बहसलाई नै आधार बनाएर दिगो विकासलाई जोड दिन नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी जारी गरेको बताए । उनकाअनुसार जलवायु परिवर्तनको असरहरु कम गर्न विभिन्न फण्डहरुको आवश्यकतामा ७७ अर्ब अमेरिकी डलरको आवश्यकता पर्ने हुँदा बैंकहरुले त्यसका सहयोग गरुन् भन्ने उद्धेश्यले हो ।

‘बैंक तथा वित्तीय संस्थाबाट कृषि, पर्यटन, उद्योग लागायतका क्षेत्रमा हुने फाइनान्सिङ्गलाई जलवायु परिवतर्नको असरहरुलाई हेरेर त्यसअनुसार फाइनान्सिङ्ग गर्ने भन्ने किसिमको एक कन्सेप्ट हो’ बैंकिङ्ग समाचारसँग उनले भने, ‘त्यस विषयमा बैंकले कति फाइनान्सिङ्ग गर्ने भन्ने निर्देशनहरु आइसकेको भने छैन ।’ उनले बैंक तथा वित्तीय संस्थाले गर्ने फाइनान्सिङ्ग अर्थतन्त्र हरित हुनेगरी गर्न राष्ट्र बैंकले नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी जारी गरेको बताए ।