सागसब्जीबाट वार्षिक छ लाख आम्दानी

सागसब्जीबाट वार्षिक छ लाख आम्दानी


रामपुर – गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भएपनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा छन् ।

रामपुर नगरपालिका वडा नं ५ राङभाङ का २४ वर्षीय गौतमको बारीमा हुर्किएका सागसब्जी देखेर जोकोहीको मन लोभिन्छ । बाल्यावस्थादेखि नै खेतीकिसानीमा मातापितालाई साथ दिएका उनी हाल व्यावसायिक रूपमा सागसब्जी उमार्ने किसान बनेका छन् । उनको मेहनत छ रोपनी जग्गामा लटरम्म काउली, गोलभेँडाले प्रस्तुत गरेका छन् ।

उनले छ रोपनी जग्गामध्ये तीन रोपनी जग्गा भाडामा लिएर खेती गरिरहेका छन् । उनले पाँच वर्षअघि गौतम कृषि फर्म दर्ता गरी व्यवसाय सुरु गरेका हुन् ।

वार्षिक रूपमा छ लाख रुपैयाँ बराबरको आम्दानी गर्दै आएको उनी बताउँछन् । बेमौसमी खेतीलाई प्राथमिकता दिएर सागसब्जी लगाउने गरेको उनले बताए । ‘बजारको चिन्ता छैन, उत्पादन हुनुपर्छ, व्यापारी घरमै आउँछन्, आकर्षक आम्दानी हुनेरहेछ,’ उनले भने ।

वैदेशिक रोजगारीमा पसिना बगाउन भन्दा आफ्नै गाउँको माटोमा पसिना बगाएर भविष्य बनाउने सोचका साथ खेती थालनी गरेको उनले जनाए । उनले ‘टनेल’भित्र र बाहिर खेती गरेका छन् । टनेलभित्र उत्पादन धेरै हुने गरेको उनले सुनाए ।

युवालाई प्रोत्साहन गर्दै यस व्यवसायका लागि रामपुर नगरपालिकाले ब्याज अनुदान कार्यक्रममा समावेश गरी दुई वर्षसम्मका लागि रु आठ लाख रकम ब्याज अनुदान उपलब्ध गराएको उनी बताउँछन् । सबैको साथ र हौसला पाएकाले उनी खेती विस्तार गर्न उत्साहित छन् ।