काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘सी प्लस’ ग्रेड पाएका छन् । ग्लोबल फाइनान्स म्यागेजिनका अनुसार गभर्नर अधिकारीले सन् २०२४ मा ‘सी प्लस ग्रेड’ पाएका हुन् ।
म्यागेजिनले प्रत्येक वर्ष विभिन्न देशका गभर्नरहरुको ग्रेडिङ निकाल्दै आइरहेको छ । यो वर्ष म्यागेजिनले १०१ देशका गभर्नरको ग्रेडिङ सार्वजनिक गर्दै अधिकारीले सी प्लसको ग्रेडिङ पाएका हुन् ।
म्यागेजिनका अनुसार ‘ए प्लस’ ग्रेडिङ तीन देशका गभर्नरले पाएका छन् । जसमध्ये डेनमार्क, भारत र स्वीजरल्याण्ड छन् । भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डियाका गभर्नर शसिकान्तदासले समेत ‘ए प्लस’ ग्रेडिङ पाएका छन् ।
के हो ‘सी प्लस ग्रेड’ ?
ग्लोबल फाइनान्स म्यागेजिनले प्रत्येक वर्ष विश्वभरका १०० भन्दा बढी गभर्नरहरुको ग्रेडिङ गर्दै आइरहेको छ । कार्यक्षमता, कार्यशैली, नीतिगत व्यवस्था र निर्णय क्षमता र सम्बन्धीत देशको अर्थतन्त्रमा आएको बढोत्तरी वा घटोत्तरी लगायतका सूचकलाई आधार मानेर म्यागेजिनले ग्रेडिङ गर्दै आइरहेको छ । यहीआधारमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने गभर्नरलाई ए प्लस रेटिङ दिइन्छ ।
यसपछि ए, बी प्लस, बी हुँदै सी प्लस रेटिङ मिल्छ । यसआधारमा नेपालको केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रदर्शन औसत मान्न सकिन्छ । अमेरिकाको ग्लोबल फाइनान्स म्यागेजिनले ए प्लसदेखि एफसम्मको रेटिङ गभर्नरहरुलाई दिँदै आएको छ । म्यानमार र भेनेजुयलाका गभर्नरले एफ ग्रेड पाएका छन् ।
गभर्नर अधिकारीलाई किन सी प्लस ग्रेड ?
ग्लोबल फाइनान्स म्यागेजिनले गभर्नर अधिकारीको नेतृत्वमा नेपालले औसत आर्थिक प्रगती गरेको उल्लेख गरेको छ । उनको नीतिगत व्यवस्थाका कारण नेपालको ५०० प्रतिशतसम्म पुगेको ऋण लगानी खुम्चिएको उल्लेख गरेको छ । यस्तै, १३ प्रतिशतभन्दा माथि रहेको निजी क्षेत्रको कर्जा प्रवाहको वृद्धि केन्द्रीय बैंककै नीतिका कारण ४.६ प्रतिशतमा आइपुगेको थियो ।
प्रतिक्रिया