काठमाडौं – कोरोना बीमाको दावी रकम भुक्तानी नभएपछि बदनाम बनेको बीमा क्षेत्रमाथि यही वर्षको असोजमा गएको बाढी र पहिरोले फेरी अर्बौको दायित्व थपेको छ । असोजको ११/१२ गते परेको भिषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण बीमा कम्पनीमाथि अर्बौँ रुपैयाँको दायित्व सृजना गरेको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार १८ वटा बीमा कम्पनीमाथि ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँभन्दा बढीको ३ हजार ३०६ वटा दावी परेका छन् । यसबाट बीमा क्षेत्रमा ९ अर्ब ५४ करोडभन्दा बढीको दायित्व सृजना भएको छ। प्राधिकरणको तथ्यांकअनुसार दाबीमध्येबाट अहिलेसम्म ३० करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ ।
यो रकमको भुक्तानी २६१ वटा दावी भुक्तानीबाट सम्भव भएको हो । दुई दिनसम्म लगातार परेको पानीका कारण देशभरका खोलानालामा पानीको बहाब बढेको थियो । खोलाको बहाब बढेसँगै आसपासको क्षेत्रमा रहेका भौतिक संरचना, कृषि बालि, उद्योगकलकारखाना र घर तथा जग्गामा ठूलो क्षति भयो । जसको दाबी साढे ९ अर्ब रुपैयाँभन्दा माथि पुगेको हो ।
कोरोना बीमाले बद्नाम, बाढीपहिरोबाट शाख उठाउने मौका
नेपालको बीमा क्षेत्र सबैभन्दा बढी विवादित क्षेत्रकारुपमा रहेको छ। यो क्षेत्रलाई सर्वसाधारणले आँखा चिम्लेर विस्वास गर्दैनन्, उल्टै अविश्वास गर्छन् । सर्वसाधारणको यो अविश्वासलाई कोरोना बीमाको दाबी भुक्तानी दिन नसक्दा झनै मलजल पुग्यो । प्राधिकरणका अनुसार नेपालमा करिब १३ लाख मानिसहरूले कोरोना बीमा गराएका थिए । त्यसमध्ये करिब १,२०,००० मानिसहरू कोभिडबाट सङ्क्रमित भएको तथ्यांक उपलब्ध भएको थियो ।
कोभिडको समयमा भएको कोरोना बीमाको दावी भुक्तानी अझै हुन सकेको छैन । यो प्राकृतिक विपत्तिलाई बीमा कम्पनीहरुले आफ्नो शाख बढाउने अवसरकारुपमा समेत प्रयोग गर्न सक्छन् । बीमा कम्पनीहरुले दाबी भुक्तानी दिँदैनन् भन्ने आरोप झुटो सावित गर्न यो विपत्तिलाई अवसरकारुपमा लिनुपर्ने प्राधिकरणका निर्देशक शुसील देवले बताउँछन् । उनी भन्छन्, ‘प्राधिकरणले बीमा कम्पनीहरुलाई बाढी पहिरोमा परेको दाबीको भुक्तानी छिट्टै दिनुपर्छ । यसले कम्पनीको शाख बढाउन मद्धत पुग्छ ।’
यस्तै, कम्पनीमा परेको दाबीलाई उचित मूल्यांंकन गरेर भुक्तानीको फाइल अघि बढाएको बीमा सर्भेयर सधंको अधयक्ष मोहन पूरुष ढकाल बँताउछन् । ‘नहुनु क्षति भैसकेको छ । तर, जसले–जसले बीमा गरेको छन् । उनीहरुको लागि केही हदसम्म बीमाले सघाँउछ र दावी रकम समय दिनको लािग सबै निकायहरु लागि रहेको छ ।’सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले पनि बाढीबाट भएको क्षतिमा बीमा गरेको बीमितहरुलाई मर्का नपारी सक्दो छिटो दाबी भुक्तानी गर्ने बताउँछन् ।
कुन कम्पनीलाई कति दायित्व ?
प्राधिकरणका अनुसार सबैभन्दा बढी दायित्व सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई परेको छ । यो कम्पनीमा ४८५ वटा दावी परेको छ । जसमा कम्पनीले २ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने हुन्छ । हालसम्म कम्पनीले ३३ वटा दावीको ४ करोड १७ लाख ८१ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
यसैगरी ओरिएन्टल इन्स्योरेन्सले दोस्रो धेरै दावी भुक्तानी गर्नुपर्ने देखिएको छ । यो कम्पनीले १७२ वटा दाबीको १ अर्ब ४५ करोड ६९ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । हालसम्म कम्पनीले ६ वटा दावीको ३ लाख ९४ हजार रुपैयाँ भुक्तानी गरेको छ । सबैभन्दा बढी दावी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । शिखरमा ४२७ वटा दावी परेको छ । ती दाबीको ९८ करोड ८१ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ । कम्पनीले हालसम्म १५९ वटा दावीको २१ करोड ५० लाख ४२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
यी कम्पनीले अझै दिन सुरु गरेनन् भुक्तानी
दावी परेपनि हालसम्म एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी एउटा पनि भुक्तानी सुरु गरेका छैनन् । उता निर्जीवन लघु बीमकमध्ये स्टार माइक्रोले ९ वटा दावीको ३५ लाख १५ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ४ वटा दावीको १५ लाख २० हजार रुपैयाँ, नेपाल माइक्रोले ७ वटा दावीको ८ लाख ५० हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ६ वटा दावीको २ लाख ४० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । हालसम्म यी लघु बीमकले पनि दावीको भुक्तानी दिन सुरु गरेका छैनन् ।
प्रतिक्रिया