काठमाडौं – नेपाललाई कृषि प्रधान देश भनेर चिनिन्छ । मुलुकका अधिकांश जनसङ्ख्याको जीविकाेपार्जनकाे स्रोत नै कृषि क्षेत्र हो । कूल गार्हस्थ्य उत्पादनको २५ प्रतिशत हिस्सा नै कृषिले ओगटेको छ । धेरै नागरिकले आय र रोजगारीको मुख्य स्रोतका रूपमा कृषि क्षेत्रलाई अँगालेका छन् । देशको कुल गार्हस्थ्य उत्पादनको करिब एक तिहाई भाग ओगटेको यो क्षेत्र समय–समयमा हुने अप्रत्याशित दुर्घटनासँग जुध्न बाध्य छ ।
जलवायु परिवर्तनका कारण, अप्रत्याशित घटनाहरू र कृषिमा असर पर्ने कामहरूले गर्दा किसानहरू मर्का पर्ने गरिन्छ । कृषि व्यवसायमा हुने जोखिमको भार कम गरी कृषकको आर्थिक उन्नति तथा साख कायम राखी निर्वाहमुखी कृषि पेसालाई व्यावसायिक कृषि पेसातर्फ उन्मुख गराउने उद्देश्यले बीमा समितिबाट वि.सं २०६९ देखि बाली तथा पशुपन्छी बीमा निर्देशन २०६९ मार्फत नेपालमा कृषि बीमाको सुरुवात गरिएको हो ।
निर्देशिका परिमार्जन गर्ने क्रममा बीमा समितिले निर्देशिकाको क्षेत्रलाई अझै बृहत बनाउन २०७७ मंसिर १५ गते कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ जारी गरेको थियो भने त्यसलाई पनि परिमार्जन गरी कृषकको माग अनुसार जडीबुटी समेतलाई समेटेर २०७९ श्रावण १ गतेबाट लागु हुने गरी कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी भयो ।
त्यसैगरी, नेपाल सरकार, कृषि विकास मन्त्रालयबाट २०७० श्रावण १ गतेबाट लागु हुने गरी बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका, २०७० जारी गरी कृषि बीमाको बीमाशुल्कमा अनुदानको व्यवस्था पनि गरिएको छ । पहिलो बर्ष बीमाशूल्कको ५५ प्रतिशत मात्र अनुदान दिने व्यवस्था गरिएको थियो । दोश्रो वर्ष २०७१ श्रावण १ गतेबाट बीमाशुल्कमा ७५ प्रतिशत अनुदान दिने निर्णय भयो । पुनः २०७७ असोजबाटै लागुहुने गरी बीमा शूल्कमा दिने अनुदान ८० प्रतिशत पुराइयो ।
कृषि बीमाको फाइदाः
कृषि प्रधान देशमा किसानहरूको सारथिकारुपमा कृषि बीमा रहन्छ । किसानका लागि कृषि बीमाका धेरै फाइदाहरू छन् । बीमाले बाढी, पहिरो, खडेरी, आँधी, आगलागी जस्ता प्राकृतिक प्रकोपहरूको प्रभावहरू विरुद्ध सुरक्षा प्रदान गर्छ । बीमाले कृषकलाई अप्ठ्यारो परिस्थितिमा सहयोग गर्ने काम गर्छ । बाली बीमाको यो पक्ष किसानको लागि स्थिर आय सुनिश्चित गर्न लाभदायक छ । जसले, कृषि क्षेत्रको आर्थिक मेरुदण्ड सुरक्षित हुन्छ ।
यसबाहेक, बाली तथा पशुधन बीमाले ठुला–ठुला कृषि कार्य मात्र नभई गैरव्यवसायीक किसानलाई पनि समर्थन गर्छ । यसले, ठुला –ठुला प्लटमा गरिने खेतीदेखि साना परिवारिकस्तरमा सञ्चालित खेतसम्मको खेतीको विविध प्रकृतिलाई मान्यता दिन्छ । सञ्चालनका विभिन्न आयतनहरूको लागि उपयुक्त सुरक्षा कवज प्रदान गरेर, बीमाले कृषि परिदृश्य विविध र समावेशी रहन्छ भन्ने सुनिश्चित गर्दछ ।
प्रतिक्रिया