कम्प्युटर प्रणालीले सहज बन्दै मालपोतको तामेली व्यवस्थापन

कम्प्युटर प्रणालीले सहज बन्दै मालपोतको तामेली व्यवस्थापन


तनहुँ – जिल्लास्थित मालपोत कार्यालयमा कम्प्युटर प्रणालीमार्फत सेवा प्रवाह हुन थालेको छ । कम्प्युटर प्रणालीको सुरुआत भएसँगै मालपोत कार्यालयको तामेली व्यवस्थापन सहज र प्रभावकारी बनेको हो ।

कम्प्युटर प्रणालीबाट तामेली व्यवस्थापन गर्न थालेपछि कार्यालयमा सेवाग्राहीको घुइँचो कम हुन थालेको कार्यालयका मालपोत अधिकृत केशवराज सुवेदीले बताए । उनका अनुसार कम्प्युटर प्रणालीबाट तामेलीको व्यवस्थापन गर्न थालेपछि काम छिटो र प्रभावकारी रुपमा सम्पन्न हुनाका साथै अभिलेख राख्न पनि सहज भएको छ ।

घसेवाग्राही अत्यधिक घुइँचो हुने भएकाले सहज सेवा उपलब्ध गराउने उद्देश्यले गत असोज १ गतेदेखि कम्प्युटर प्रणाली प्रयोगमा ल्याएका हौँ’, सुवेदीले भने, ‘प्रविधिको प्रयोग गर्दै आधुनिक, सहज र गुणस्तरीय सेवा दिने पहल थालेका छौँ । यसले लामो समय कुर्नुपर्ने सेवाग्राहीको सास्ती हटेको छ ।’

प्रविधिको उपयोगले कार्यालयमा अभिलेखीकरण भएका लिखत खोज्न सहज भएको उनको दाबी छ । तीन जना कर्मचारी यसमा परिचालन गरिएको जनाउँदै मालपोत अधिकृत सुवेदीले छिटो, छरितो र पारदर्शी रुपमा कार्यसम्पादन भइरहेको बताए ।

मालपोत कार्यालयका प्रमुख एवं सूचना अधिकारी टीकाराम घोरासैनीले कम्प्युटर प्रणालीबाट तामेली व्यवस्थापन सुरु गरेपछि लिखत खोज्न सहज हुनाका साथै सेवाग्राहीको घुइँचो व्यवस्थापन हुँदै गएको बताए । उनका अनुसार कम्प्युटर प्रणालीको सुरुआत भएपछि दैनिक ४० वटा लिखतका काम गरेका छन् ।

दैनिक लिखतको काम गर्ने व्यक्तिले ४ बजेसम्ममा रातो पुर्जासमेत लैजाने गरेका सूचना अधिकारी घरासैनीले जानकारी दिए । सेवाग्राहीका समस्या समाधान गर्दै छिटो, छरितो सेवा प्रवाह गर्ने उद्देश्यले प्रविधिको प्रयोगलाई जोड दिइएको उनको भनाइ छ । ‘कार्यालयमा प्रविधिको उपयोग नहुँदा लामो समय वा हप्तौँसम्म तामेली खोज्न समय लाग्थ्यो । कम्प्युटर प्रणाली प्रयोगमा ल्याइएपछि काम छिटो भई सेवाग्राहीले एकै दिनमा रातो पुर्जा लैजाने गरेका छन्’ , उनले भने । रासस