तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री


जनकपुरधाम – साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा रु पाँच करोड २३ लाख बराबरको आयोडिनयुक्त नुन बिक्रीवितरण गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि असोज महिनासम्म आफ्नो डिलरमार्फत ४५ हजार तीन सय ७० बोरा नुन बिक्री गरेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिए ।

धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले तीनवटै जिल्लामा २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्रीवितरण गर्दै आएको छ ।

चालु आर्थिक वर्षमा प्रतिबोरा आयोडिनयुक्त नुन रु एक हजार एक सय ५० का दरले डिलरमार्फत बिक्री भइरहेको प्रमुख साहले बताए । कार्यालयले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ मूल्यका पसलसमेत सञ्चालन गरी नुन बिक्री गरिरहेको छ ।

गत असोज ७ गतेदेखि यही कात्तिक २९ गतेसम्मका लागि सञ्चालन गरिने ती पसलबाट असोज ३० गतेसम्ममा चार हजार छ सय प्याकेट नुन बिक्री गरेको प्रमुख साहले बताए ।

सहुलियतदरको पसलबाट प्रतिप्याकेट २४ रुपैयाँ तथा सोझै डिलरमार्फत २६ रुपैयाँमा बिक्रीवितरण भइरहेको छ । आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले १८ करोड ६२ लाख ८१ हजार रूपैयाँ मूल्य बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको थियो ।