चिया निर्यात बढ्दा अलैँचीको घट्यो

चिया निर्यात बढ्दा अलैँचीको घट्यो


भद्रपुर – मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकअनुसार तीन महिनामा ६ हजार ४ सय मेट्रिक टन चिया निर्यात भएको हो ।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५०.८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा एक अर्ब १३ करोड ५९ लाख ९४ हजार बराबरको चिया निर्यात भएको थियो । भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए ।

चिया निर्यातमा सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।कार्यालयको तथ्यांकअनुसार चालु आव २०८१/८२ को पहिलो त्रैमासिकमा अलैँचीको निर्यातमा ४९ प्रतिशतले गिरावट आएको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा ७ सय ८३.७५ मेट्रिक टन अलैँची निर्यात भएको छ । आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा एक हजार ५ सय २५.९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्यांकअनुसार प्लाइउड, अम्रिसो र भेनीयर सिटको परिमाण क्रमशः २५, ३९ र एक सय ६६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अदुवा, छुर्पी, फलाम, तरकारीलगायत वस्तुको निर्यातमा कमी आएको छ ।