विपद्मा सरकारलाई वाणिज्य बैंकहरुको ढाडस, बाढी पीडितलाई गर्दैछन् करोडौं सहयोग

विपद्मा सरकारलाई वाणिज्य बैंकहरुको ढाडस, बाढी पीडितलाई गर्दैछन् करोडौं सहयोग


काठमाडौं – बेमौसमी मनसुनका कारण आइपरेको विपत्तीमा परेर क्षति ब्यहोरेका पिडीतलाई राहत दिलाउन देशका बैंक तथा वित्तीय संस्थाहरुले सक्रियता देखाएका छन् । यही असोज ११ र १२ गते आएको भिषण वर्षाका कारण आएको प्राकृतिक विपत्ती (बाढी र पहिरो) का कारण देशमा ठूलो विपत्ती आइपरेको थियो ।

बाढी र पहिरोमा परेर हालसम्म साढे २०० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । यस्तै भौतिक पूर्वाधारमा १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको सरकारको प्रारम्भिक आँकलन छ । सडकमार्ग, जलविद्युत, कृषि, सिञ्चाई, खानेपानी लगायतका क्षेत्रमा अर्बौ रुपैयाँको क्षति पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले नै उद्घोष गरेका छन् ।

तर यो क्षतिको विवरण अन्तिम होइन । सरकारले नै सर्वसाधारणमा अत्यास नफैलाउने लक्ष्यसहित न्यूनतम क्षतिको विवरण सार्वजनिक गरेको सरकार निकट बताउँछन् । दसैंको पूर्वसन्ध्यामा आइपरेको यो प्राकृतीक विपत्तीमा परेका पिडीतलाई राहत पुर्याउन हातेमालो गर्ने क्रम जारी छ । विभिन्न संघ संस्थाहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मोटो रकम हस्तान्तरण गरिरहेका छन् ।

जसको नेतृत्व बैंक तथा वित्तीय संस्थाले गरेका छन् । जसले लाख रुपैयाँदेखि करोडौं रुपैयाँसम्म कोषमा हस्तान्तरण गरेका छन् । जसबाट प्राकृतीक विपत्तीमा परेर ज्यान गुमाएका, घरबारी बगाएकाहरुलाई राहतका लागि सहजीकरण हुन्छ । हालसम्म २० मध्ये ११ वटा वाणिज्य बैंकले कोषमा पिडीतलाई राहत दिने लक्ष्यसहित रकम जम्मा गरेका छन् । यस्तै नेपाल पूर्वाधार विकासबैंकले समेत रकम जम्मा गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक, प्रभु बैंक र ग्लोबल आईएमई बैंकले कोषमा करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरेका छन् । बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मार्फत बाढी र पहिरो पिडीतलाई राहतमा सहज होस् भन्ने लक्ष्यसहित कोषमा रकम हस्तान्तरण गरेका हुन् ।

ग्लोबल आइएमई बैंक – ४ करोड ५० लाख
ग्लोबल आइएमई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ५० लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिमा रहेका नागरिकहरुको राहत र उद्धारका लागि सरकारसँग हातेमालो गर्दै उक्त सहायता प्रदान गरिएको बैंकका अध्यक्ष ढकालले बताए ।

राष्ट्रिय वाणिज्य बैंक – २ करोड
राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले हालैको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

नेपाल बैंक – २ करोड
नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुुई करोड रूपैयाँ सहयोग गरेको छ । नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी सहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज उक्त चेक हस्तान्तरण गरका हुन् ।

कृषि विकास – बैंक १ करोड ५०
कृषि विकास बैंकले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरेको छ ।

प्रभु बैंक – १ करोड
प्रभुु बैंकले प्रभावित परिवारकालागि सहायता राहत स्वरुप एवम् नेपाल सरकारलाई पिडितहरूको खोजतलास, उद्वार र राहत कार्यमा सहयोग पुगोसभन्ने उद्वेश्यले प्रभु समुह अन्तर्गतको प्रभु बैंक लिमिटेडले १ करोड रुपैयाँ प्रदान गरेको हो । अध्यक्ष देवीप्रसाद भट्टचनबाट चेक हस्तान्तरण गरेका हुन् ।

एनएमबी बैंक – ५१ लाख
एनएमबी बैंकले बाढीपहिरो पीडितहरुको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गरेको छ । यस सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र बिग्रीएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा बैंकले गरेको छ । बैंकका अध्यक्ष मनोज गोयलले ५१ लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

एभरेष्ट बैंक – ५० लाख
एभरेष्ट बैंकले पनि बाढी पीडितको उद्धारका लागि ५० लाख सहयोग गरेको छ । बैंकले १० लाखको चेक प्रभानमन्त्रीलाई हस्तान्तरण गरेको हो ।

प्राइम कमर्सियल बैंक – ३१ लाख
प्राइम कमर्सियल बैंक बाढीपहिरो पीडितका लागि ३१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । प्राइम कमर्सियल बैंकका तर्फबाट बाढीपीडितहरूको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक – २५ लाख
सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

एसबीआई बैंक – २५ लाख
नेपाल एसबिआई बैंकले पहिरो र बाढीका पीडितहरूको राहतका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख दिएको छ । बैंकले सीएसआर अन्तर्गतको रकम सो कार्यमा लगाएको हो । बैंकका एमडी समेत रहेका सीईओ दिपक कुमार डि ले प्रधानमन्त्रीलाई एक कार्यक्रमकाबिच सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सानिमा बैंक – २५ लाख रुपैँया
सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैँया सहयोग गरेको छ । बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो ।

नेपाल पूर्वाधार विकास – २५ लाख
नेपाल पूर्वाधार विकास बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग गरेको छ । बैंकले बाढी पीडितको हित तथा संरचना पुननिर्माणका लागि भन्दै सो रकम हस्तान्तरण गरेको हो ।