व्यापार वृद्धिमा मात्रै केन्द्रित बीमा कम्पनी, दायरा विस्तारमा छैन ध्यान

व्यापार वृद्धिमा मात्रै केन्द्रित बीमा कम्पनी, दायरा विस्तारमा छैन ध्यान


काठमाडौं – बीमा कम्पनीहरु दायरा विस्तारको सट्टा व्यवसाय विस्तारमा केन्द्रीत बनेका छन् । व्यवसाय विस्तारमा बीमा कम्पनीहरुले जोड दिँदा दायराको सट्टा आम्दानीमा मात्रै वृद्धि देखिन थालेको छ । यसलाई चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा कम्पनीहरुले गरेको व्यवसायले नै पुष्टी गर्छ ।

चालू आर्थिक वर्ष २०८१/८२ को साउन र भदौ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । यो गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा १० प्रतिशतको वृद्धि हो । चालू वर्षको यस अवधिमा निर्जीवन बीमा कम्पनीले ४ लाख २८ हजार ६८ वटा बीमा पोसिलि जारी गरेका छन् । यो संख्याको बीमा पोलिसी जारी गर्दा कम्पनीहरुले ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेका छन् ।

तर, यसको ठिक उल्टो बीमाको दायर खुम्चन थालेको छ । गत वर्षको यस अवधिको तुलनामा १.११ प्रतिशत बीमाको दायरा खुम्चिएको हो । जबकी, सरकारको लक्ष्य नै जनसंख्याको ५० प्रतिशतमा बीमाको पहुँच पुर्याउने छ । पहुँच नकरात्मक बनेपछि बीमाको दायर खुम्चिएर ४३.२७ प्रतिशतमा आइपुगेको छ । जुन, यसअघि ४४.३८ प्रतिशत पुगिसकेको थियो ।

दायरा किन घट्यो – अलमलमा नियामक
बीमा कम्पनीहरु बीमा क्षेत्रमा व्यवसायमा अग्रसर भएर व्यवसाय बढाउन केन्द्रीत हुँदा दायरा खुम्चिरहेको छ । तर, नियामकीय निकाय बीमा प्राधिकरणले दायरा खुम्चनुको कारण नै खोतल्न सकेको छैन । प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले सबै बीमा कम्पनीहरुले व्यवसायिक हिसाबले राम्रो काम गरिरहेका बँताउछन् । ‘बीमा कम्पनीहरुले बीमा क्षेत्रको विकास गर्न पहल गरिरहेका छन्,’ उनले भने ।

तर, यसको विपरित दायरा खुम्चँदो अवस्थामा छ । भावी दिनमा व्यवसाय जस्तै दायरा पनि विस्तार हुँदै जानेमा प्राधिकरण विश्वस्त छ । ‘आगामी सयममा बीमाको दायरा बढ्छ भन्नेमा हामी विश्वस्त छौ,’ उनले भने । यसबाट सरकारी लक्ष्यअनुरुप ५० प्रतिशत जनसंख्यामा दायरा पुर्याउन भूमिका खेल्दै कम्पनीहरुलाई झक्झक्याउनु पर्नेमा प्राधिकरण छ ।

के भन्छन् बीमा कम्पनी ?
बीमक संघका अध्यक्ष चंकी क्षेत्री आफूहरु व्यवसायमा मात्र नभएर बीमाको दायरा बढाउन लागिरहेको बताउँछन् । सबैभन्दा धेरै कुल बीमाशुल्क संकलन गर्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)का प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले भने, ‘हामी व्यवसाय विस्तारमा जस्तै दायरा विस्तारमा पनि लागिरहेका छौं । व्यवसाय विस्तार गर्नुपनि दायरा विस्तारको एउटा रुप हो ।’कम्पनीहरुले ग्रामीण क्षेत्रमा पनि बीमाको सचेतना कार्यक्रम जगाइरहेको बताउँछन् । भन्छन्, ‘बीमा कम्पनीहरु पनि बैंकमा जस्तै सेवाग्राहीको भीड लागोस भन्ने चाहन्छन् । यही लक्ष्यमा काम गरिरहेका छन् ।’

कुनको बजार कति ?
यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब १ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ८१ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी छ । कम्पनीले ७२ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६० करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस्तै, नेको इन्स्योरेन्सले ५८ करोड ८९ लाख, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ५८ करोड १ लाख रुपैयाँ रुपैयाँ संकलन गरेको छ ।

यसैगरी, राष्ट्रिय बीमा कम्पनीले ५४ करोड ५३ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले ४८ करोड १६ लाख र यूनाइटेड अजोड इन्स्योरेन्सले ४५ करोड ५१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यसबाहेक, ओरिएण्टल इन्स्योरेन्सले ४४ करोड ३१ लाख रुपैयाँ संकलन गर्दा नेपाल इन्स्योरेन्सले ४३ करोड ७१ लख, सानिमा जिआइसी इन्स्योरेन्सले ३९ करोड ७० लाख, नेशनल इन्स्योरेन्सले ३७ करोड २६ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले २९ करोड ४१ लाख रुपैयाँ संकलन गरेको प्राधिकरणले जनाएको छ ।

संचालनमा रहेका यी सबै कम्पनीले भदौ महिनामा मात्रै कूल ३ अर्ब ४८ करोड ६६ लाख रुपैयाँको व्यवसाय गरेका छन् । जुन, गत वर्ष भदौको तुलनामा १२.५१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ९ करोढ ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।