केन्द्रिय बैंकले फेर्याे ‘बीओपी’ गणना गर्ने विधि, के हो ‘बीपीएम–६’ ?

केन्द्रिय बैंकले फेर्याे ‘बीओपी’ गणना गर्ने विधि, के हो ‘बीपीएम–६’ ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले शोधनान्तर स्थिति तथ्यांक ‘ब्यालेन्स अफ पेमेन्ट’ (बीओपी) गणना विधि परिमार्जन गरेको छ । यससँगै केन्द्रीय बैंकले ‘बीपीएम म्यानुअल ५’ को सट्टा ‘बीपीएम म्यानुअल ६’ अनुसार शोधनान्तर स्थिति तथ्यांक संकलन गर्नेछ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०३०/३१ देखि अन्तर्राष्ट्रिय मापदण्ड र प्रचलनमा आधारित शोधनान्तर निर्देशिका तयार पारी शोधनान्तर प्रकाशन गर्दै आएको छ । आर्थिक वर्ष २०७६/७७ सम्म यस बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको शोधनान्तर मार्गदर्शन ब्यालेन्स अफ पेमेन्ट म्यानुअलको पाँचौं संस्करण एवम् सो बमोजिमको ‘शोधनान्तर तथ्यांक संकलन निर्देशिका, २०६१’ अनुसार शोधनान्तर तथ्याङ्क प्रकाशन गर्दै आएको थियो ।

यो विधि परिमार्जन गर्दै केन्द्रीय बैंकले आर्थिक वर्ष २०७७/७८ देखि आईएमफद्वारा प्रस्तावित रूपान्तरण म्याट्रिक्सको आधारमा बीपीएमएसलाई आईएमफको शोधनान्तर तथा अन्तर्राष्ट्रिय लगानीसम्बन्धी मार्गदर्शनको छैठौं संस्करण (बिपीएम ६) मा सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन)बाट राष्ट्र बैंकले बीपीएम ६ मा आधारित ‘इन्टरनेशनल ट्रान्जेक्सन रिपेर्टिङ्ग सिस्टम गाइडलाइन्स, २०२२’ अनुसार प्राप्त तथ्यांककको प्रशोधन गरी शोधनान्तर स्थितिको तथ्यांक निकालेको छ ।

बीपीएम ५ र बीपीएम ६ मा के छ फरक ?

बीपीएम ५ र ६ शोधनान्तर तथ्यांकमा प्रमुख भिन्नता तथ्यांक वर्गीकरण र प्रस्तुतिकरणमा रहेको केन्द्रीय बैंकले जनाएको छ । बीपीएम ५ को तुलनामा बीपीएम ६ मा शोधनान्तर तथ्यांकले थप स्पष्टता, विस्तृतता र पारदर्शिता प्रदान गर्नेछ । बीपीएमएस अन्तर्गत चालू र पुँजी खातामा क्रेडिट प्रविष्टि र डेबिट प्रविष्टिलाई पङ्क्तिहरूमा प्रस्तुत गरिनेमा बीपीएम ६ मा क्रेडिट र डेबिट प्रविष्टिहरूलाई स्तम्भहरूमा प्रस्तुत गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, केन्द्रीय बैंकले बीपीएम ६ अन्तर्गत वित्तीय खातामा डेबिट र क्रेडिटको ठाउँमा क्रमशः वित्तीय सम्पत्तिको प्राप्ति खुद (नेट एक्विजिसन अफ फाइनान्सियल एसेट) र दायित्वको सिर्जना प्रयोग गरिएको बताएको छ । बीपीएम ५ बमोजिमको प्रस्तुतिमा डेबिट प्रविष्टिहरूलाई ऋणात्मक चिन्ह प्रयोग गरिने अभ्यास रहेकोमा बीपीएम ६ बमोजिमको प्रस्तुतिमा चालु तथा पुँजी खाताका दुवै क्रेडिट र डेबिट प्रविष्टिहरूलाई धनात्मक चिन्ह मा प्रस्तुत गरिएको छ ।

यसैगरी, बीपीएमएस बमोजिमको प्रस्तुतिमा वित्तीय खातामा सम्पत्ति वृद्धि गर्न ऋणात्मक चिन्ह र सम्पत्तिमा कमी गर्न धनात्मक चिन्हको प्रयोग गर्ने अभ्यास रहेकोमा बीपीएम ६ बमोजिमको प्रस्तुतिमा सम्पत्ति वा दायित्व वृद्धिलाई जनाउन धनात्मक चिन्ह र सम्पत्ति वा दायित्वमा कमीलाई जनाउन ऋणात्मक चिह्न प्रयोग गरिएको छ ।

चालु खाताअन्तर्गतका क्रेडिट प्रविष्टिबाट डेबिट प्रविष्टि घटाई खुद चालु खाता र वित्तीय खाताअन्तर्गतका वित्तीय सम्पत्तिको प्राप्ति खुदबाट दायित्वको सिर्जना (खुद) घटाई खुद ऋण प्रवाह खुद उधारो प्राप्तिको गणना गरिएको केन्द्रीय बैंकले जनाएको छ । बीपीएम ५ अनुरूपको तालिकामा एकै शीर्षकमा समेटिएका कतिपय शीर्षकलाई हालको बीपीएम ६ अनुरूपको तालिकामा विभिन्न शीर्षकमा विभाजन गरिएको छ भने केहीलाई पुनः वर्गीकरण गरिएको छ ।

त्यसैले, केन्द्रीय बैंकले हाल प्रकाशित बीपीएम ६ मा आधारित शोधनान्तर तथ्यांकका केही शीर्षकलाई २०८१ साउन भन्दा अगाडि प्रकाशित बीपीएम ६ ढाँचाको तथ्यांकसँग प्रत्यक्ष तुलना गर्दा थप विचार पुर्‍याउन समेत आवश्यक देखिने बताएको छ । बीपीएम ५ बमोजिमको प्रस्तुतिमा शोधनान्तर बचत जनाउन ऋणात्मक चिन्ह र शोधनान्तर घाटा जनाउन धनात्मक चिन्ह प्रयोग गर्ने गरिएकोमा बीपीएम ६ मा बमोजिमको प्रस्तुतिमा शोधनान्तर बचत जनाउन धनात्मक चिन्ह र शोधनान्तर घाटा जनाउन ऋणात्मक चिन्ह प्रयोग गरिएको बताएको छ ।