अर्थमन्त्री पौडैलले बेइजिङमा भेटे चीनका उपप्रधानमन्त्री हि लिफेङ

अर्थमन्त्री पौडैलले बेइजिङमा भेटे चीनका उपप्रधानमन्त्री हि लिफेङ


काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ ।

भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताएका छन् । उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले केरुङ(काठमाडौं रेल निर्माण, टोखा–छहरे सुरुङ मार्ग, किमाथाङ्का–हिले, हिल्सा–सुर्खेतभुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गरेका छन् । त्यसैगरी चीनका विभिन्न सहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा विस्तारका लागि सहयोग गर्न पनि आग्रह गरेका छन् ।

भ्रमण टोलीमा रहेका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालको तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको र कामहरु अघि बढाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए ।

करिब एक घण्टा भएको भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यबहाक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरु सहभागी थिए ।

चीन सरकारको तर्फबाट उपप्रधानमन्त्री हि लिफेङ, यातायात मन्त्री लि स्याओफङ, बेइजिङ महानगरका मु फङ, नेशनल रेलवे एडमिनिस्ट्रेसनका प्रमुख फे दोङ विङ, नागरिक उडड्यन प्रमुख सोङ च्योङ लगायतका अधिकारी सहभागी थिए ।