गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय

गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय


काठमाडौं – सरकारले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको सूचनालाई नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ । बुधबार  बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।

यसअघि गत भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले गंगादेव गाउँपालिकाको नाम ‘सुकीदह’ र केन्द्र वडा नम्बर २ स्थित ‘सुखाओडार (जिनावाङ) राख्ने निर्णय गरेको थियो ।

२०८० वैशाख ८ गते सम्पन्न भएको गाउँ सभाले गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरी नाम ‘सुकीदह’ र केन्द्र सुखाओडार सिफारिस गरे अनुसार सरकारले गत भदौमा गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेको हो ।

‘गंगादेव गाउँपालिका, रोल्पाको नाम परिवर्तन गरी सुकीदह गाउँपालिका कायम गर्ने र सो गाउँपालिकाको केन्द्र साविक वडा नं. ५ सानडाँडाबाट वटा नं.२ स्थित सुखाओडार (जिनावाङ) मा कायम गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८१/५/२० गतेको निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,’ बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ ।

स्मरण रहोस् २०७२ सालमा गाउँपालिका कायम हुँदा गंगादेव गाउँपालिकाको नाम सुकीदह नै थियो ।